विराटनगर । विराटनगर–१६ स्थित मिल्स माध्यमिक विद्यालयले ७३ औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ । मंगलबार विद्यालयले भव्य कार्यक्रमका बिच वार्षिकोत्सव सम्पन्न गरेको हो । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले विद्यालयको वार्षिकोत्सवको उद्घाटन गरेकी हुन् ।
उपमेयर कार्कीले विद्यालयको भौतिक पूर्वाधार, शिक्षक र विद्यार्थी सङ्ख्याका आधारमा विद्यालयले निरन्तर प्रगति गर्दै गएको बताइन् । उनले सामुदायिक विद्यालयलाई सबल बनाउन सवै क्षेत्रको सहयोग आवश्यक रहेको बताइन् ।
महानगरपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै उपमेयर कार्कीले सामुदायिक विद्यालयलाई समेत निजी विद्यालयकै दाँजोमा पुर्याउन सकिने बताइन् । त्यसको उदाहरणका रुपमा महानगरको दक्षिणी क्षेत्रमा रहेको मिल्स स्कुललाई समेत लिन सकिने उनले जानकारी दिइन् ।
वार्षिकोत्सवका अवसरमा स्व. योग प्रसाद उपाध्याय स्मृति उत्कृष्ट शिक्षक पुरस्कार शिक्षिका पिंकी महतोलाई प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशि ११ हजार १०० रुपैयाँ रहेको छ ।
सोही अवसरमा विद्यालयले बालमैत्री सिकाइतर्फ सतनी देवी यादव, उपचारात्मक कक्षा सञ्चालनमा विशेष भूमिका तर्फ इन्दिरा गुरागाईँ, उत्कृष्ट खेल शिक्षकमा किशोर आचार्य, तथ्याङ्क व्यवस्थापन र अभिभावक सम्पर्कमा विशेष भूमिका तर्फ सितेश प्रसाद कर्ण, इनोभेसन र विद्यार्थी अनुशासनमा विशेष योगदान गरेबापत जितेन्द्र निराला र नियमितता र विद्यार्थी अनुशासनमा विशेष भूमिका तर्फ विनोद कुमार यादवलाई दोसल्लासहित शिक्षक सम्मान प्रदान गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं वडा नम्बर १६ का वडाध्यक्ष उद्धव कुमार भुजेलले विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई दोसल्ला ओढाएर उक्त सम्मान प्रदान गरेका हुन् ।
त्यसैगरी कर्मचारीतर्फ सुरक्षागार्ड अनुप लामा र विद्यालय कर्मचारी पिंकी चौधरीलाई कर्मचारी पुरस्कार प्रदान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष राजेश सुब्बाले उनीहरूलाई पुरस्कार प्रदान गरेका हुन् ।
जनही १० हजार रुपैयाँ राशीको बाबा–विनु छात्रवृत्ति विद्यार्थीहरू दिपाकुमारी यादव र प्रिन्स साहलाई प्रदान गरिएको छ । नेपाल प्रहरीका पूर्व एआईजी अरुण कुमार बिसीले अक्षयकोष स्थापना गरी उक्त छात्रवृत्ति स्थापना गरेका थिए ।
विद्यालयले प्रदान गर्दै आएको प्रति विद्यार्थी दुई हजार रुपैयाँ राशीको रवर्टन शाक्य छात्रवृत्तितर्फ विद्यार्थीहरू रामानन्द डोम, निरजकुमार तत्मा, कार्तिक कुमार कामत, साक्षी कुमारी साह, सीमा कुमारी राय, अर्चना कुमारी दास तत्मा, सीमा चौधरी, प्रनिता डंगोल, ऐश्वर्यालक्ष्मी राई र राधिका साहलाई प्रदान गरिएको छ । कक्षा ८ को अन्तिम परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई प्रदान गरिने विनायक छात्रवृत्ति तर्फ करिना ठकुरी, नविता पण्डित, देवकुमार सहनी र ओम यादवलाई प्रदान गरिएको छ ।
नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने दुई विद्यार्थीलाई प्रदान गरिने भिमप्रसाद–चित्रमाया दाहाल छात्रवृत्ति मुकेशकुमार राजवंशी र करिना कुमारी महतोलाई प्रदान गरिएको जनाइएको छ । सोही विद्यालयमा ३८ वर्ष पढाएका स्वर्गीय भीम प्रसाद दाहालको स्मृतिमा उनका छोरा बद्री दाहालले जनही ५ हजार ५५५ रुपैयाँ राशीको छात्रवृत्ति प्रदान गरेका छन् ।
विद्यालयले हरि मेहत्तर, शम्भु पण्डित र ममता परियारलाई अभिभावक पुरस्कार प्रदान गरेको छ । वार्षिकोत्सवमा सामाजिक विकास मन्त्रालयका उपसचिव दामोदार फुयँल सहित विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, शिक्षासेवी लगायतको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी गरिएको थियो । उक्त अवसरमा मिल्स माविका प्रधानाध्यापक बिन्दुकुमार लावतीले साधारणतर्फ कक्षा– ११ र कक्षा–१२ मा शिक्षा, मानविकी एवम् व्यवस्थापन र प्राविधिक धारतर्फ कक्षा ९–१२ मा कम्प्युटर इन्जिनियरिङ विषयको पढाइ हुँदै आएको जानकारी दिए ।
जोगवनी सीमा नजिकै रहेका व्यापारिक सीमा नाकाको प्रत्यक्ष एवम् अप्रत्यक्ष असर र प्रभाव विद्यालयमा पर्ने गरेको बताए । उनले विद्यालयमा हाल ५१ जना शिक्षक कर्मचारी कार्यरत रहेको बताए ।
मिल्स माविमा हाल बालविकास कक्षादेखि १२ कक्षासम्म जम्मा एक हजार १३६ विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ । विराटनगरको रोडशेष चोक दक्षिणतर्फका अभिभावकहरुका लागि शिक्षा क्षेत्रमा आशा र भरोसाको शैक्षिक केन्द्र बन्दै आएको उनले दाबी गरे ।
विद्यालयलाई अझ अघि बढाउन र शैक्षिक सुधारको आधार तयार गर्न विद्यालय परिवार प्रयत्नशील रहेको प्रअ लावतीले बताए ।
‘बालबालिकाका लागि कक्षा कोठाभित्रै पिउने पानी फिल्टर जडान गर्ने, बालविकास कक्षामा सुत्ने पलङहरुको व्यवस्था गर्ने, छुट्टै शौचालय र छुट्टै खेल्ने ठाउँ तथा खेलेर सिक्न खेल सामग्रीहरूको व्यवस्था गर्न विद्यालयले योजना बनाएको छ’ प्रअ लावतीले भने, ‘मिल्स माविले आम अभिभावकहरूको चाहनाअनुरूप यस शैक्षिक सत्रदेखि बालविकास, कक्षा १ र कक्षा ६ मा अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेको छ, २०८१ मा यसलाई बढोत्तरी गरी कक्षा–७ मा समेत अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने कुरा सगर्व राख्न चाहन्छु ।’
वि.सं. २००३ सालमा मोरङ कटन मिलको कुल्ली क्वाटरको पक्की लङमा मिल्स प्राइमरी स्कुलको नाममा स्थापना भएर ००७ फाल्गुण ८ गते मात्र विधिवत विद्यालयको मान्यता प्राप्त गरेको थियो ।
वि.सं. २००९ मा कक्षा ३, २०१४ मा कक्षा ७, २०२१ सालमा कक्षा ९ र २०२२ सालमा कक्षा १० सम्मको विद्यालय सञ्चालन भएको जनाइएको छ । उक्त विद्यालयबाट वि.सं. २०२३, २०२४ र २०२५ सालको एसएलसी परीक्षामा १-१ जना विद्यार्थी प्रथम श्रेणी सहित शतप्रतिशत पास भएको इतिहास छ ।
View : 935
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved