Biratnagar, Morang, Nepal
२ असोज २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

सार्वजनिक लेखा समितिमा माओवादीका उम्मेदवारले प्रस्तावक र समर्थन नभेटेपछि....

प्रस्तावक र समर्थकको अभावमा किराँतीले मनोनयन दर्ता नपाएपछि सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारी आफैंले प्रस्तावक बसिदिएर माओवादीलाई ‘नीतिगत चिलिम’ हुनबाट जोगाएका हुन् ।
उद्घोष सम्वाददाता
२७ भदौ २०८१, बिहिवार

Advertisement

विराटनगर । कोशी प्रदेशसभाको सातवटा विषयगत समितिमध्ये सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवार बनाइएका माओवादी केन्द्रका राजन किराँतीलाई बिहीबार प्रस्तावक र समर्थन जुटाउनै मुस्किल परेको छ ।

कोशी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको माओवादी केन्द्रले दाबी गरेको सार्वजनिक लेखा समितिको सभापतिमा किराँतीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो । तर उनले उम्मेदवारी दिने क्रममा आफ्नै दलबाट समेत प्रस्तावक र समर्थक नभेटेपछि एमालेले साथ दिनु परेको हो ।

प्रस्तावक र समर्थकको अभावमा किराँतीले मनोनयन दर्ता नपाएपछि सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारी आफैंले प्रस्तावक बसिदिएर माओवादीलाई ‘नीतिगत चिलिम’ हुनबाट जोगाएका हुन् ।

सार्वजनिक लेखा समितिमा सभापति दाबी गरेको माओवादीबाट उक्त समितिमा सांसदहरु राजन किराँती र दुर्गाप्रसाद चापागाइँ मात्रै सदस्य रहेका कारण प्रस्तावक र समर्थकको अभाव खेप्नु परेको हो । 

संसदभित्र र बाहिर एमाले र मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध खरो उत्रिन थालेको माओवादीले समितिको सभापति चयनमा भने एमालेकै साथ खोज्नु परेपछि केही सांसदहरुले भने यो घटनालाई रोचक रुपमा लिएका छन् ।

१२ सदस्यीय सार्वजनिक लेखा समितिमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने अर्का सांसद चापागाइँ विराटनगरभन्दा बाहिर रहेका कारण किराँतीलाई प्रस्तावक बसिदिने सांसद खोज्न एमाले गुहार्नु पर्ने अवस्था बनेको हो । 

स्रोतका अनुसार किराँतीलाई प्रस्तावक र समर्थकमा बसिदिन कांग्रेसका सांसदहरुले अस्वीकार गरेका थिए । प्रस्तावक र समर्थकको अभावमा माओवादीबाट सभापतिमा उम्मेदवार बन्न नपाएपछि एमालेले दलभित्र र कांग्रेससँग समेत छलफल गरेर माओवादीलाई साथ दिने निर्णय गरेको एमालेका एक सांसदले बताए । 

प्रस्तावक र समर्थकका लागि सत्ता पक्षलाई गुहार माग्नुपर्ने अवस्था बनेपछि माओवादी केन्द्र संसदीय दलका उपलब्ध सांसदहरुबीच संसद सचिवालयमा केहीबेर खैलाबैला भएको जनाइएको छ ।

सार्वजनिक लेखा समितिमा कांग्रेसबाट इन्दिरा थापा, प्रदीपकुमार सुनुवार, भीम पराजुली, लखीकुमारी गणेश, सदानन्द मण्डल, नेकपा एमालेबाट किशोरचन्द्र दुलाल, गीतारानी महतो, छविलाल चुडाल, रेवतिरमण भण्डारी र राप्रपाबाट सविना बजगाँई सदस्य रहेका छन् । कोशी प्रदेश सभामा प्रतिपक्षमा रहेको राप्रपासमेतले माओवादीलाई साथ नदिएपछि एमालेले प्रस्तावक र समर्थक बसिदिएर राजनीतिक सदाशयता प्रकट गरेको हो ।

‘प्रमुख प्रतिपक्षी दलले आफ्नो भागमा पर्ने समितिमा प्रतिनिधित्व गराउने विषयमा राजनीतिक सुझबुझ नदेखाउनुले हामी त आश्चर्यचकित भएका थियौं’ कांग्रेसका एक सांसदले भने, ‘हाम्रो दलमा पनि माओवादीलाई सहयोग गरिदिने कि के गर्ने भनेर छलफल भयो, तर निष्कर्षमा नपुगेपछि एमालेले साथ दिएको छ, यसलाई राजनीतिक सदाशयताकै रुपमा बुझ्नु उचित हुन्छ ।’ 

बिहीबार कोशी प्रदेशसभाका सातैवटा विषयगत समितिको सभापतिमा एकल उम्मेदवारी परेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले सातैवटा विषयगत समितिहरुका सभापतिको निर्वाचनका लागि एकल उम्मेदवारी दर्ता भएको जानकारी दिए । 

पराजुलीका अनुसार न्याय, प्रशासन तथा विधायन समितिको सभापतिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाइँ, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार समितिको सभापतिमा होमबहादुर थापाको उम्मेदवारी परेको जनाइएको छ ।

उनीहरुको एकल उम्मेदवारी दर्ता भएका कारण शुक्रबार दिउँसो सम्बन्धित समितिले सभापति चयन गर्ने र शुक्रबार २ बजे सभापतिहरुको सपथ ग्रहण कार्यक्रम तय गरिएको पराजुलीले जानकारी दिए ।

View : 307

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved