विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश समितिले कोशी प्रदेश सरकारका प्रमुख सचिव, विभिन्न मन्त्रालयमा सरुवा भएर आएका सचिव, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुलाई स्वागत गरेको छ ।
परिसंघका कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले उनीहरुलाई बिहीबार एक कार्यक्रमका बीच स्वागत गरेका हुन् ।
सारडाले संविधान बनाउँदा राजनीतिक रुपमा मात्रै नभई आर्थिक रुपमा पनि मुलुकलाई बलियो बनाउने भनिएको स्मरण गरे । त्यसो नहुँदा नै अहिले मुलुकमा बिभिन्न समस्या आउने गरेको बताए ।
देशको विकासमा युवाको भूमिका महत्वपूर्ण भए पनि भएको जग्गा बेचेर बिदेश पलायन हुनुपरेको बताए ।
आन्दोलनका नाममा निजी क्षेत्रसमेत पलायन हुने अवस्था रहेको भन्दै उद्योग व्यवसाय गर्ने वातावरण बनाउन आग्रह गरे । मुलुकमा चुनाव हुने वातावरण बन्दै गएको बताए । चुनाव शान्तिपूर्ण रुपमा हुनुपर्नेमा अध्यक्ष सारडाले जोड दिए ।
कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलले अहिले संरचनाले प्रदेश र निजी क्षेत्रबीच प्रत्यक्ष सम्बन्ध नहुने विद्यमान व्यवस्था रहेपनि उत्पादन र लगानी प्रवद्र्धनमा भने सहकार्य रहदै आएको बताए । उनले पर्यटन क्षेत्रको विकास गरी प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउन सकिने बताए ।
प्रमुख सचिव पौडेलले पर्यटन पुर्वाधारका क्षेत्रमा समेत उद्योगी व्यवसायीले लगानी गर्न सक्ने धारणा राखे ।
परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले चुनावमा जनताको सुरक्षासहित उद्योग व्यवसायको समेत सुरक्षाका लागि आग्रह गरे ।
उनले राजश्व छल्ने र गैरकानुनी काम गर्नेहरुलाई परिसंघले संरक्षण नगर्ने दाबी गरे । कोशी प्रदेश र जिल्लामा रहेर काम गर्दा राम्रो सफलता प्राप्त हुन सकोस् भन्दै शुभकामना दिए ।
मोरङका प्रजिअ युवराज कट्टेल र सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले उद्योग व्यवसायका साथै सेवा क्षेत्रमा समेत उद्योगी व्यवसायीले महत्वपूर्ण योगदान गर्दै आएको भन्दै प्रशंसा गरे ।
उनीहरुले कर्मचारीहरुले पनि आफ्नो मर्यादा र जिम्मेवारीभित्र रहेर काम गर्नेमा आफू विश्वस्त रहेको बताए ।
व्यवसायभित्र पनि व्यवसायिक मर्यादा र सीमा कायम गर्दै अघि बढ्न आग्रह गरेका थिए । राज्यका निकायले सधैंभरी सहयोग गर्ने प्रजिअहरुले आश्वासन दिए ।
कार्यक्रममा कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलसहित आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरि निरौला, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव नारायणप्रसाद रिसाल, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुको उपस्थिति थियो ।
त्यस्तै परिसंघका बरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले परिसंघको आमन्त्रणलाई स्वीकार गरी कार्यक्रममा सहभागिता भएका सवैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बताए ।
उक्त अवसरमा परिसंघका पदाधिकारी तथा सदस्यहरू, महिला समिति र युवा समितिको सहभागिता थियो ।
View : 123
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved