Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

लागुऔषधविरुद्ध ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स’ अभियान सुरु

उद्‌घोष सम्वाददाता
२८ फागुन २०८१, बुधवार

धरान । लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेशमा ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स’ अभियान सुरु भएको छ ।

‘अबको युद्ध, दुव्र्यसनविरुद्ध’ भन्ने नारासहित कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सुरु गरेको अभियानको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार बिहान इटहरीमा उद्घाटन गरेका छन् ।

विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्यसहित प्रदेशका १४ वटै जिल्लामा यो अभियान अगाडि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) राजन अधिकारीले जानकारी दिए ।

६ बर्षअघि सुनसरीबाट सुरु भएको दुव्र्यसन विरुद्धको अभियान बुधबारदेखि कोशी प्रदेशमा विस्तार गरिएको हो । 

सुनसरी प्रहरी प्रमुख हुँदा अभियानको परिकल्पना गरी सुनसरीमा अभियान सुरु गरेका अधिकारी कोशी प्रदेश प्रहरी प्रमुख भएपछि अभियानलाई प्रदेशव्यापी बनाइएको हो । 

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समेटेर अघि बढाइएको यो अभियानलाई प्रदेश र स्थानीय तहहरुले बार्षिक कार्ययोजनामै समेटेर साथ दिएको डीआईजी अधिकारीले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुऔषध रोकथाम र नियन्त्रणका क्षेत्रमा यो अभियानले ठूलो भूमिका खेलिरहेको बताउँदै यसको माध्यमबाट दुर्व्यसनको समस्या समाधानमा ठूलो जागरूकता र परिवर्तन ल्याएको बताए ।

जिल्ला प्रहरी कार्यलय सुनसरीको समन्वयमा भएको कार्यक्रममा प्रदेश सरकारका बिभिन्न मन्त्रीहरु, स्थानीय तहका प्रमुख तथा बिभिन्न जिल्लाका सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो । 

उनीहरुले यो अभियानले दुव्र्यसनबाट बचाउन र युवाहरूलाई सकारात्मक दिशातर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने भन्दै सबैको सहयोग अपरिहार्य रहेको बताए ।

२०७५ साल माघ १४ गते सुनसरीमा जिल्ला प्रहरी कार्यालयले ‘शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि’ समुदाय प्रहरी साझेदारी अन्तर्गत ‘दुव्र्यसन विरुद्ध ‘फ्यान’ अभियानको अवधारणा लागु गरेको थियो । 

अभियानको प्रारम्भिक चरणमा सुनसरी जिल्लाका १८ वटा माध्यमिक विद्यालयहरूलाई समावेश गरिएकोमा हालसम्म ७० वटा भन्दा बढी विद्यालयमा विस्तार भएको छ । अभियानबाट हालसम्म ७५ हजारभन्दा बढी विद्यार्थीहरू लाभान्वित भएको सुनसरी प्रहरी प्रमुख सुमन तिम्सिनाले जानकारी दिए ।

View : 261

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved