Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराट ट्रेड एक्स्पो २०२५ नजिकिंदै, ८० प्रतिशत स्टलको बुकिङ पूरा

उद्‌घोष संवाददाता
२३ मंसिर २०८२, मङ्गलवार

विराटनगर । सुस्ताइरहेको विराटनगरको उद्योग व्यवसाय क्षेत्रलाई ब्युँताउने अस्त्रका रुपमा विराट ट्रेड एक्स्पो–२०२५ को तयारीलाई तीब्रता पारिएको छ । 

विराटनगर–१ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिणमा रहेको खाली ठाउँमा मोरङ उद्योग व्यापार संंघले  एक्स्पो आयोजना गर्न लागेको हो ।

संघले विगत वर्षहरू झैं यस वर्ष पनि आउँदो पुस ९ देखि १९ गतेसम्म ‘विराट टे«ेड एक्स्पो–२०२५’ आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । 

एक्स्पोलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक तयारी अघि बढाइएको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए । 

उनले कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको थलोका साथै नयाँ पुस्तालाई मनोरञ्जन प्रदान गर्न एक्स्पो आयोजक संस्थाले सवै प्रकारले तयारी गर्ने जानकारी दिए ।

स्वदेशी र विदेशी गरी विभिन्न कम्पनीका उत्पादनको प्रवद्र्धन र बिक्री वितरणका लागि २३० वटा स्टल समावेश गरिने जनाइएको छ । जसमध्ये ८० प्रतिशत अर्थात १९२ भन्दाबढी स्टल भने ‘बुकिङ’ भइसकेको विराट ट्रेड एक्स्पो–२०२५ का संयोजक अमितकुमार सारडाले जानकारी दिए ।

२३० मध्ये भारत, बंगलादेश र पाकिस्तान लगायतका मुलुकबाट अहिलेसम्म २६ वटा स्टलहरू बुकिङ भइसकेको जनाइएको छ । एक्स्पोमा अटोमोबाइल्स क्षेत्रलाई छुट्टै पेभिलियनमार्फत प्रदर्शन र बिक्री वितरणका लागि राखिनेछ । दुई करोड ५० लाख रुपैयाँको लागतमा एक्स्पोको डोम र पेभिलियन निर्माण गर्ने काम अघि बढेको हो । 

मुलुककै जेठो उद्योग वाणिज्य संघको स्थानमा रहेको मोरङ उद्योग व्यापार संघ २००७ सालमा स्थापना भएदेखि नै मुलुकको आर्थिक र सामाजिक मामिलामा अग्रणी भूमिका खेल्दै आएको दाबी गरिएको छ । 

संघले मुलुकको आर्थिक मेरुदण्डका रुपमा रहेको उद्योग व्यवसाय क्षेत्रको हकहित संरक्षण र आर्थिक गतिविधिको विकास एवं प्रवद्र्धनका लागि निरन्तर प्रयासरत रहँदै कोशी प्रदेशका स्वदेशी उत्पादनसहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरुको प्रवद्र्धन एवं विकासमा जोड दिन एक्स्पो आयोजना गरिएको जनाएको छ । 

यस वर्षको एक्स्पो नयाँ र विद्यमान उत्पादन र सेवाको प्रदर्शन, स्वदेशी र विदेशी उत्पादनको प्रदर्शन तथा बिक्री गर्न र व्यापार लगानीको सम्भावनाबारे छलफल गर्ने उत्कृष्ट थलो बन्ने अध्यक्ष राठीले बताए । 

एक्स्पोका लागि जर्मन प्रविधिको ह्याङ्गर, अक्टानमसहित स्टल रहने उनले बताए । घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त कोशी प्रदेशको महत्व झल्किने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनको प्रदर्शनी हुने जानकारी दिए । 

एक्स्पोमा स्टार्टअप, साना तथा मध्यम उद्यम, पर्यटन, सूचना प्रविधि, कर तथा लेखा र महिला उद्यमशीलता सम्बन्धी छलफल तथा गोष्ठीमार्फत सहभागीहरूलाई उपयोगी ज्ञान, सीप र अवसर प्रदान गरिने पनि उनले बताए ।

एक्पोको मुख्य प्रायोजन रमपम तयारी चाउचाउ र मारुती सिमेन्टले गरेका छन् । बिहानदेखि बेलुकासम्म वस्तु तथा सेवाको प्रवद्र्धन र बिक्री वितरण हुने र राति भने ख्यातीप्राप्त कलाकारहरूका साथ दर्शकहरूको बीचमा मनोरञ्जनात्मक कार्यक्रम गरिने जनाइएको छ । 

एक्स्पोमा कुमार सागर, रक हेड्स, इलिमेन्टस्, कुटुम्ब, स्वप्न सुमन, उज्जेन शाक्य लगायतका ब्याण्ड तथा अन्य कलाकारहरूले प्रस्तुति दिने संयोजक सारडाले बताए । साथै एक्स्पो स्थलमा सेल्फी जोन, किड्स जोन, फिस तथा जलपरी टनेल लगायतका आकर्षण रहने जानकारी दिए । एक्स्पोमा स्वदेशी र छिमेकी मुलुक भारतबाट गरी दुई लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उनले बताए ।

संघले पहिलो पटक कोशी महोत्सव २०५३ मार्फत औद्योगिक तथा व्यापारिक मेलाको प्रवद्र्धन सुरु गरेको थियो । त्यसपछि पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२, विराट महोत्सव २०७०, विराट ट्रेड एक्स्पो २०७५, विराट ट्रेड एक्स्पो २०७८, मोरङ व्यापार संघ एक्स्पो–२०८० पनि आयोजना गरी भव्यताका साथ सम्पन्न गरिसकेको छ ।

View : 187

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved