Biratnagar, Morang, Nepal
२७ फागुन २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

बेलकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे विवादमा

उद्‌घोष सम्वाददाता
२१ पुष २०८१, आइतवार

उदयपुर । उदयपुरको बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे कर्मचारी भर्नाको विवादमा मुछिएका छन् । 

नगरपालिकाले रोजगार सहायक पदमा करारमा कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढाउँदा उम्मेदवार बनेका व्यक्तिको साटो नाम र ठेगाना मिलेका अर्का व्यक्तिलाई प्रशासकीय अधिकृत घिमिरेले नियुक्ति दिएको आरोप लागेको हो ।

उक्त विवादपछि नेकपा एमाले बेलका नगर कमिटीले घिमिरेको कार्यकक्षमा गत बिहीबार तालाबन्दी समेत गरेको थियो । 

विवादपछि उपप्रमुख जिरा राईको संयोजकत्वमा छानबिन समिति गठन भएका कारण आइतबार तालाबन्दी खोलिएको जनाइएको छ । 

आइतबार नगरपालिका र आन्दोलनरत पक्षबीचको वार्तामा पाँच बुँदे सहमति भएपछि ताला खोलिएको एमालेका स्थानीय नेता गणेश बस्नेतले जानकारी दिए । 

सहमतिमा उपप्रमुखको संयोजकत्वमा गठिन छानविन समितिले प्रतिवेदन सार्वजनिक नगरुञ्जेलसम्मका लागि निमित्त कार्यालय प्रमुखबाट नगरपालिकाको दैनिक सेवा सुचारु गर्ने सहमति भएको जनाइएको छ । यो निर्णय अनुसार विवाद साम्य नहुञ्जेल प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई कामकाज गर्न रोक लगाएको बस्नेतले बताए ।

प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बदनियत्पूर्वक काम गरेको आन्दोलनरत पक्षले आरोप लगाएको छ । घिमिरेले भने कर्मचारी नियुक्ति प्रक्रियाका बारेमा आफुलाई कुनैपनि जानकारी नभएको भन्दै पन्छिएका छन् ।

रोजगार सहायक पदको विज्ञापनमा फारम नै नभरेका, लिखित र प्रयोगात्मक परीक्षामा समेत सामेल नभएका दिव्यराज अधिकारी नाम गरेका व्यक्ति नियुक्ति माग्दै कार्यालयका आएका थिए । उनलाई मेयर अशोक कार्कीले समेत बधाई दिंदै राम्रोसँग काम आग्रह गरेका थिए । 

तर रोजगार सहायक पदमा भएको विज्ञापनमा भने अर्कै दिव्यराज अधिकारी सहभागी भएको जनाइएको छ । नगरपालिकाले भने सक्कली र नक्कली दिव्यराज अधिकारी नछुट्याई लापरवाहीपूर्वक हाजिर गराएको जनाइएको छ । विवादपछि प्रमुख प्रशासकीय अधिकृत घिमिरे भने मोबाइल स्विचअफ गरेर बसेका थिए ।

View : 241

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved