विराटनगर । विराट गोल्डकपको आठौं श्रृंखला आगामी चैत १५ गतेदेखि हुने भएको छ । प्रतियोगिता यस पटक पनि रात्रीकालीन हुने जनाइएको छ ।
विराटनगरको फुटबल खेल इतिहासकै महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित भएको विराट गोल्डकप चैत १५ देखि २४ गतेसम्म गर्ने तालिका बनेको विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीले बताए ।
प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त समय तालिका उपलब्ध गराएको जनाइएको छ । अध्यक्ष शाहीले प्रतियोगिताको तालिका पाएलगत्तै मैदान व्यवस्थापनदेखि क्लबहरूको सहभागिता सुनिश्चित गर्ने फ्रक्रिया अघि बढाइएको जानकारी दिए ।
ट्रष्टका अध्यक्ष शाहीले विगतको जस्तो कोही एक व्यत्तिलाई संयोजक तोकेर ट्रष्ट आफैले यस पटकको प्रतियोगिता गर्न लागेको बताए । उनले विराटनगरका उद्योगी व्यवसायी, खेलकुदकर्मी संघसंस्था लगायतसँग गोल्डकपलाई भव्य र सभ्य बनाउनेबारे छलफल गरिने बताए ।
ट्रष्टले आर्थिक समस्याका कारण यस पटकको प्रतियोगितामा बाध्य भएर पुरस्कार राशिलाई केही कटौती गर्न लागेको बताए । उनले प्रायोजकदेखि सहयोगी संस्थाहरू समेत आर्थिक समस्याको चपेटामा रहेका कारण पुरस्कार राशिलाई कटौती गर्नुपर्ने अवस्थामा पुगेको जानकारी दिए ।
विजेताका लागि ११ लाख र उपविजेताका लागि ५ लाख रुपैयाँ पुरस्कार राशि तोकिएको जनाइएको छ । गत वर्ष विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख ५१ हजार राशि पुरस्कार घोषणा गरिएको थियो । प्रतियोगितामा तीन विभागीय टोलीसहित १० वटा क्लबको सहभागिता रहने जनाइएको छ ।
View : 240
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved