Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

मुख्यमन्त्री कार्की र ढकालको जम्काभेट, घण्टौ सँगै हुन्छन् तर बोल्दैनन्

उद्‌घोष सम्वाददाता
२९ फागुन २०८१, बिहिवार

मारवाडी युवा मञ्चले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा एउटै सोफामा रहेका मुख्यमन्त्री कार्की र ढकाल । तस्वीर : उद्घोष

विराटनगर । प्रदेश कमिटीको प्रतिष्पर्धामा पराजित भएपछि सार्वजनिक कार्यक्रममा आफ्नो उपस्थिति पातलो बनाएका एमाले नेता विनोद ढकाल हिजोआज यस्ता कार्यक्रममा भने बाक्लो देखिन थालेका छन् । 

खासगरी नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनमा आफूअनुकूलको नेतृत्व जिताएपछि भने ढकाल उमङ्गभावमा सार्वजनिक कार्यक्रममा देखिन थालेका हुन् । तर, उनको उपस्थिति बेलाबेलामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग जम्काभेटको रुपमा परिणत हुँदा भने एउटा अनौठो स्थिति पैदा भएको महसुस गर्ने धेरै भेटिन्छन् । 

कुनै बेलाका सारै हितचित्त मिलेका, एउटै भातभान्सा गरेका ढकाल र कार्कीबीचको सम्बन्ध त्यसको ठिक विपरीत देख्दै कि रिस उठ्ने तहमा पुगेपछि अचेल उनीहरूबीच हुने जम्काभेट दुवैलाई पानी माग्ने कि बिदा माग्ने अवस्था हुने गरेको छ । 

नेकपा एमालेको गत २०८० असोजमा सम्पन्न प्रदेश अधिवेशनमा कार्कीले ढकालको विपक्षमा मोर्चा कसेपछि उनीहरूबीचको सम्बन्ध तिक्ततामा परिणत भएको थियो । ढकाललाई हराउन तत्कालीन समयमा मुख्यमन्त्री रहेका कार्कीमाथि राज्यसंयन्त्रको दुरुपयोग गरेको आरोप थियो । 

पार्टीको प्रदेश कमिटीको निर्वाचनमा गडबढी गर्न खोजेको भन्दै ढकालले कार्कीलाई अधिवेशनस्थलमै गालीसमेत गरेका थिए । 

‘ढकालले कार्कीलाई त्यतिखेर ठाडै ‘तैले के गर्न खोजेको ? भन्ने तहसम्मको गाली गरेका थिए’ उनीहरूबीच त्यतिखेर भएको नोकझाेंक सुनेका एक कार्यकर्ताले भने । उनीहरूबीच त्यसबेला बिग्रिएको सम्बन्ध अहिलेसम्म हार्दिकतामा परिणत नभएको ती कार्यकर्ताले बताए । 

प्रदेशको निर्वाचनपश्चात् पार्टीभित्रै पनि विभिन्न कारणले किनारा पार्न थालिएपछि ढकाल पनि सार्वजनिक कार्यक्रममा खासै जाँदैनन् थिए । जसका कारण मुख्यमन्त्री कार्कीलाई शत्रुको अनुहार नदेखेपछि हाइसञ्चो भनेझै त्यस्ता सार्वजनिक कार्यक्रममा जान त्यति असहज हुँदैन थियो । तर हिजोआज माहौल फेरिएको छ । 

विराटनगरका जुनै प्रकारका सार्वजनिक कार्यक्रममा ढकाल निम्ताइन्छन्, भ्याएसम्म उनी पनि कार्यक्रममा पुग्छन् । यसको उदाहरणका रुपमा केही दिनको अन्तरालमा भएको दुई सार्वजनिक कार्यक्रमलाई लिन सकिन्छ । 

जुन कार्यक्रमहरूमा ढकाल पनि पुगेका थिए । दुवै कार्यक्रम होली पर्वसँग सम्बन्धित थिए । विराट व्यापार संघले गरेको होली मिलन र मारवाडी युवा मञ्चले गरेको अर्को कार्यक्रममा ढकाल र मुख्यमन्त्री कार्की दुवै एकअर्कामा भेटिएका थिए । यसबाहेक पार्टीका कार्यक्रममा यिनीहरूबीच अब बाक्लै जम्काभेट हुन थालेको छ । तर, यस्ता भेटमा दुवैमा एक अर्काबीच सजिलो हुने वातावरण बनिसकेको छैन । 

मारवाडी युवा मञ्चले मंगलबार विराटनगरमा गरेको कार्यक्रममा दुवै निम्ताइएका थिए । कार्यक्रमका दुवैजना सहभागीमात्रै भएनन्, आयोजकले बस्ने ठाउँ पनि एउटै सोफा मिलाई दिए । 

सोफासेटमा दुवै जना बसेका देखिन्थे । तर दुवैले एकआपसमा सम्वादसम्म गरेनन् । एकले अर्कालाई हेर्दा पनि हेरेनन् । राति अबेरसम्म भएको कार्यक्रममा सवा १० बजेतिर ढकाल कुर्सी छाडेर खानातिर लागे । कार्की भने बसिरहे । 

‘कुर्सीमा सँगैसँगै बस्नुभयो, कुराकानी भयो होला नि ?’ खाना खाँदै गर्दा सोधिएको प्रश्नमा ढकालले भने, ‘हल्काफुल्का कुराकानी त भइहाल्छ नि ।’ कार्की र ढकाल अखिल हुँदादेखिकै सहयात्री हुन् । 

२०५५ सालमा कार्की अखिलको अध्यक्ष हुँदा ढकाल उपाध्यक्ष थिए । अहिले उनीहरूबीचको सम्बन्ध भने पानी बराबरको छ ।

View : 1336

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved