Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रतिनिधिसभा निर्वाचन :

झापा १ : विश्वप्रकाशले छाडेको क्षेत्रमा नयाँ अनुहारको प्रतिस्पर्धा

उद्‌घोष संवाददाता
२० माघ २०८२, मङ्गलवार

धुलाबारी (झापा) । फागुन २१ को चुनावी मिति जति–जति नजिकिंदै छ, सुदूरपूर्वको झापा क्षेत्र नम्बर १ मा उम्मेदवारहरुको दौडधुप पनि उत्कर्षमा छ । मतदान मिति आउन महिना दिन बाँकी रहँदै सबैजसो दलका उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । 

यसपटक नयाँ अनुहारहरुबीच हुन लागेको चुनावी भिडन्तका कारण पनि झापा १ चासोको क्षेत्र बनेको छ । अघिल्लो चुनावमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जितेको यो क्षेत्रमा यसपटक उनी उम्मेदवार छैनन् । 

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति प्रमुख बनेर देशव्यापी अभियानमा निस्केका शर्माले २०७९ को चुनावमा यो क्षेत्रबाट जित हात पारेका थिए । 

यसपटक कांग्रेसले पार्टीका जिल्ला उपसभापति केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ । 

एमालेले रामचन्द्र उप्रेतीलाई मौका दिंदा नेपाली कम्युनिष्ट पार्टीले इञ्जिनियर अशेष घिमिरेलाई मैदानमा उतारेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वसांसद निशा डाँगी र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले केवलराम राईलाई उम्मेदवार बनाएको छ । 

यो क्षेत्रमा प्रमुख दलका यिनै उम्मेदवारहरुबीच चुनावी प्रतिस्पर्धा हुने चर्चा छ । 

अहिले झापा १ भनेर चिनिने यो क्षेत्रको बहुसंख्यक भूगोल कुनैबेला झापा ३ मा पथ्र्यो । २०४८ मा यो क्षेत्रबाट एमालेका राधाकृष्ण मैनाली, २०५१ मा एमालेकै देवीप्रसाद ओझा, २०५६ मा कांग्रेसका नरेन्द्रविक्रम नेम्वाङ विजेता बनेका थिए । 

२०६४ को पहिलो संविधानसभामा माओवादीका धर्म घिमिरेले जितेको झापा १ मा २०७० मा एमालेका रविन कोइराला र २०७४ मा वाम गठबन्धनका माओवादी उम्मेदवार राम कार्की विजयी भएका थिए । 

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा तेस्रो पटकमा २०७९ मा जित हात पार्न सफल भएका थिए । 

उनी २०७० र ७४ मा पनि उम्मेदवार थिए । यसपटक विशेष महाधिवेशनबाट महामन्त्रीबाट उपसभापति बनेका शर्मा चौथो पटक उम्मेदवार बन्न चाहेनन् । त्यसैले उनले यसपटक आफैले मेयरको टिकट खोसेका केशवराज पाण्डेलाई टिकट दिएका छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा तत्कालीन महामन्त्री शर्माले ‘भिटो’ प्रयोग गर्दै कृष्णप्रसाद सिटौलानिकट मानिएका पाण्डेको टिकट खोसेर आफू निकट क्षेत्रीय सभापति इन्द्र बुढाथोकीलाई मेयरको उम्मेदवार बनाएका थिए । त्यसबेला कांग्रेसको आन्तरिक कलहको फाइदा एमालेका गोपाल बुढाथोकीले उठाएका थिए ।

त्यो कलहका वावजुद २०७९ मा शर्माले एमालेका अग्नि खरेललाई पराजित गरेका थिए । शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गर्दा उनका मुख्य प्रतिस्पर्र्धी एमालेका खरेलले २५ हजार ३ सय ४९ मत पाएका थिए । आफूले जितेको क्षेत्र छाडेर यसअघि आफैले टिकट खोसेका पाण्डेलाई शर्माले टिकट दिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार इन्जिनियर अशेष घिमिरे कम्युनिस्ट राजनीतिका नयाँ पुस्ताका प्रतिभाशाली नेतामध्ये गनिन्छन् । उनले विद्यार्र्थी राजनीतिबाट यात्रा सुरु गरेका थिए । 

यो क्षेत्रमा यसपटक सबैभन्दा उदाहरणीय चुनाव प्रचार अभियान घिमिरेकै देखिन्छ । चुनावी खर्चलाई ‘भ्रष्टाचारको बीउ’ मान्ने उनले मितव्ययी अभियान चलाइरहेका छन् ।

एमालेका रामचन्द्र उप्रेती झापा–१ का लागि नयाँ अनुहार होइनन् । संगठनात्मक राजनीतिमा लामो समय सक्रिय रहेका उप्रेती निष्ठावान नेताका रूपमा चिनिन्छन् । 

विघटित प्रतिनिधिसभाकी समानुपातिक सांसद निशा डाँगीका लागि भने क्षेत्रको भूगोल नयाँ हो ।

झापा–१ मा मेचीनगर नगरका सबै १५ वडा, भद्रपुर नगरपालिकाका वडा नं ९ र १० तथा बुद्धशान्ति गाउँपालिकाका वडा नं ४, ५, ६ र ७ पर्छन् । यसपटक यो क्षेत्रमा १ लाख ३१ हजार ६७ जना मतदाता छन् ।

२०७९ को निर्वाचनको समानुपातिक मत परिणाम अनुसार नेपाली कांग्रेस बलियो स्थितिमा देखिन्छ । कांग्रेसले २५ हजार ४ सय २० मत प्राप्त गरेको थियो भने एमालेले २२ हजार ५ सय ४७ मत प्राप्त गरेको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीले १३ हजार ७ सय ५० मत पाउँदै तेस्रो स्थान सुरक्षित गरेको थियो । त्यस्तै, माओवादी केन्द्रले ५ हजार मत पाउँदा एकीकृत समाजवादीले ५ सय २९ मत  प्राप्त गरेको थियो ।

View : 562

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved