Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

चौथो पुस्ताका प्रशान्तले सम्हालिरहेका छन् जोशी भुजिया

उद्घोष सम्वाददाता
१० पुष २०८०, मङ्गलवार

विराटनगर । विराटनगरमा जारी व्यापार मेलामा जोशी भुजियाको स्टलमा भेटिने प्रशान्त जोशी पनाति पुस्ताका उद्यमी व्यवसायी हुन् । हजुरबुवा छगनलाल जोशीका बुवा किशोरीचन्द जोशीले सुरु गरेको भुजिया व्यवसायलाई प्रशान्तका बुवा शिवरतन जोशीले पनि निरन्तरता दिए ।

वि.सं. २०२७ सालमा सुरु भएको जोशी ब्राण्डको भुजियालाई थप परिष्कृत गर्दै स्वदेशी तथा विदेशी भुजिया कम्पनीसँग खरो उत्रने सोचका साथ प्रशान्तले कारोबार र उत्पादनलाई सकेसम्म विविधीकरण गर्ने प्रयास गरेका छन् । उनले प्रत्येक महिना नयाँ अवधारणासहित नयाँ प्रकारको उत्पादन बजारमा ल्याउने गरेका छन् ।

‘स्नाक्स आइटममा हाम्रा धेरै प्रकार प्रोडक्ट छन्’ प्रशान्त भन्छन्, ‘हामी तेलविहीन(ओइल फ्री) र तेलसहितको डाइट आइटम दुवै उत्पादन गर्छौं ।’ ‘क्वालिटी र क्वान्टिटी’का आधारमा मूल्य पनि उचित राखेको उनी बताउँछन् ।  

जोशी भुजियाको सन्दर्भमा परिवारको चौथो पुस्ता पनि पुस्तैनी व्यापारमै रमाएको छ । वीरगन्जमा रहेको फ्याक्ट्रीमा उत्पादन हुने जोशी भुजियाका विभिन्न ब्राण्डहरू अहिले पूर्वको झापादेखि राजधानी काठमाडौंसम्मै फैलिएको छ ।

‘विराटनगर हाम्रो मुख्य बजार हो,’ प्रशान्त भन्छन्, ‘यसबाहेक, झापा, मोरङ सुनसरी, सिरहा, सप्तरी र काठमाडौंसम्म हाम्रो बजार छ । यसलाई अझै फैलाउने योजनामा छौं ।’ जारी व्यापार मेलामा जोशी भुजियालाई उपभोक्ताले निकै रुचाएको पाइन्छ ।

आफूहरूको उत्पादनहरूका बारे विराटनगर तथा यस आसपासका वासिन्दालाई राम्रोसँग थाहा भएको जोशी उल्लेख गर्छन् । स्वाद र गुणस्तर कायम गरेकै कारण आफूहरूलाई बजारमा टिक्न र बिक्न सजिलो भएको प्रशान्त बताउँछन् ।

View : 137

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved