Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

विश्वकप लिग–२ क्रिकेट : अमेरिकासँग नेपाल पराजित

उद्‌घोष सम्वाददाता
१८ कार्तिक २०८१, आइतवार

विराटनगर । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिज अन्तरगत नेपाल आइतबार विहान सम्पन्न खेलमा अमेरिकासँग ३७ रनले पराजित भएको छ ।

अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशाला भएको खेलमा अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २४४ रनमात्रै बनाउन सक्यो । 

नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ८० बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडेका थिए ।

नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरे । कुशल भुर्तेलले पनि २९ रन जोडे । त्यसपछि कुशल मल्लले ५४ बलमा एक चौका र एक छक्कासहित ३३ रन बनाएर आउट भएका थिए । कप्तान रोहित पौडेल एक, गुल्सन झा १२ र आरिफ शेख २१ रन बनाउँदै आउट बने ।

तर सोमपाल कामीले २७ बलमा चार चौका र दुई छक्कासहित ४६ रनको योगदान गरे ।

दीपेन्द्रसिंह ऐरीले ३८ बलमा एक चौका र एक छक्कासहित ३१ रन बनाए । करण केसीले पाँच तथा सन्दीप लामिछानेले दुई रन जोडे ।

अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक चार विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्लीले समान दुई÷दुई तथा जसदीप सिंह र हरमित सिंहले समान एक÷एक विकेट लिएका थिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८१ रन जोडेको थियो ।

अमेरिकाका लागि साइतेजा मकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ८७ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिएका हुन् ।

कप्तान मोनाङ्क पटेलले ८१ बलमा पाँच चौका र एक छक्कासहित ६७ रन जोडे ।

ओपनर शयान जहानजिगर १० र आरोन जोन्स २६ रनमा आउट भए । हरमित सिंहले ४४ बलमा तीन चौका र तीन छक्कासहित ५९ रनको योगदान गरे ।

नेपालका गुल्सन झाले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिएका थिए । त्यस्तै कुशल भुर्तेलले एक विकेट झारे ।

नेपालल लिग–२ का ११ खेलमा दुईमा जित र आठमा हारसहित पाँच अंकका साथ अङ्कतालिकाको सातौँ स्थानमा समेटिएको छ । यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँगै तीन विकेटले पराजित भएको थियो ।

अमेरिका भने १२ खेलमा आठमा जितसहित १६ अंकका साथ शीर्षस्थानमा रहेको छ । क्यानडा १२ खेलमा १६ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ ।

नेपालले भोलि सोमबार स्कटल्याण्डसँग खेल्नेछ ।

View : 117

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved