Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले मोरङ अध्यक्षमा खतिवडाको पनि दाबी

उद्‌घोष संवाददाता
२५ माघ २०८१, शुक्रवार

विराटनगर । नेकपा एमाले मोरङको दशौं जिल्ला अधिवेशन नजिकिदै जाँदा नेतृत्वमा दाबी गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । यही क्रममा जिल्ला कमिटीका पूर्व सचिव रुपेश खतिवडाले पनि अध्यक्ष पदमा आफ्नो दाबी रहने घोषणा गरेका छन् । 

‘म यसअघिको जिल्ला कमिटीको निर्वाचित सचिव हुँ, अध्यक्षले बिदा लिएर उपाध्यक्षले अध्यक्षको जिम्मेवारी पाइ सक्नु भयो’, खतिवडाले भने ‘त्यही कमिटीको सचिव म अध्यक्ष पदका लागि स्वाभाविक रुपमा दाबेदार हुँ ।’ 

आफूले डेढ दशकदेखि जिल्ला कमिटीका विभिन्न पदमा बसेर जिम्मेवारी निर्वाह गरिसकेको बताउदै आफ्नो अध्यक्ष पदमा हुने दाबी स्वाभाविक रहेको पनि दाबी गरे । 

ऋषिकेश पोखरेल अध्यक्ष, बाबुराम कार्की उपाध्यक्ष रहेको जिल्ला कमिटीका सचिव उनले २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भएको टिकट वितरणप्रति असन्तोष जनाउँदै सचिवबाट राजीनामा दिएका थिए । चुनावको केही समयपछि उनी पुनः पार्टीमा सक्रिय भएका थिए । 

‘मैले पार्टीमा राजीनामा बुझाएको बारेमा पार्टीले मलाई क्लिनचिट दिएर पुनः सक्रिय तुल्याइसकेको छ’, उनले भने ‘जिल्ला अधिवेशनमा मेरो अध्यक्ष पदमा दाबी रहनेछ ।’ 

अहिले संगठन कमिटीका भरमा चलिरहेको एमाले मोरङले १० औं जिल्ला अधिवेशन फागुन १७, १८ र १९ गते विराटनगरमा हुँदैछ । 

जिल्लाको पार्टी अध्यक्ष बन्न प्रयास गर्ने नेताहरुको सूची एमालेमा लामो छ । अहिले  संगठन कमिटीको अध्यक्ष बनिरहेका बाबुराम कार्की, जिल्ला समन्वय समिति प्रमुख अजम्बर राई, प्रदेशका पूर्व सांसद राजकुमार ओझा, विराटनगर महानगरका पूर्व अध्यक्ष सागर थापा, जिल्ला सदस्य इरान राई र अहिले पार्टी महानगर इञ्चार्ज रहेका पर्शुराम बस्नेत, अर्का नेता महेश भट्टराईलगायतको नाम पनि जिल्लाको भावी अध्यक्षका रुपमा प्रचारित छ । 
यद्यपि संस्थापन समूहले अन्तिममा बाबुराम कार्कीलाई अघि सार्ने तयारी गरेको बताउने एमाले नेताहरुले विनोद ढकाल पक्षले अजम्बर राईलाई अघि सार्ने जनाएका छन् ।

View : 687

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved