हुलाकीमार्गको कटहरी खण्डमा नेपाली कांग्रेसले गरेको अवरोध । तस्वीरः उद्घोष
विराटनगर । हुलाकी राजमार्गको मोरङ कटहरी खण्डमा नेपाली कांग्रेसले अवरोध जारी राख्दा पनि सरोकारवाला निकायले चासो दिएको छैन । सडक निर्माण भइरहेको ढिलासुस्तीको विरोधमा कांग्रेसको नेतृत्वमा दैनिक दुई घण्टा सडक अवरोध हुँदै आएको छ ।
निर्माणाधिन सडकमा ढिलासुस्ती भएकाले दुर्घटना बढेको जनाउँदै नेपाली कांग्रेस कटहरीले चैत १५ गतेदेखि सडक अवरोध गर्दै आएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेसले सडकको काम द्रुत गतिमा नथालिएसम्म अवरोध गर्ने जानकारी दिइएको थियो ।
सडक अवरोध गरेर नाराबाजी गरेको तीनदिन बितिसक्दा पनि राज्यको निकायले सम्बोधन गरेको देखिएको छैन ।
आन्दोलनको पहिलो दिन विद्यालयका बसलाई समस्या भएकाले ११ बजेपछिदेखि अवरोध गर्न थालिएको थियो । शनिबार भनें बिहान ८ बजेदेखि १० बजेसम्म सरकार बिरोधी नारा लगाउंदै अवरोध गरिएको थियो ।
कटहरी कांग्रेसका सभापति रामकुमार कामतले सडकमा भएको खल्डाखुल्डीका कारण दुर्घटना भएर कैयौंको ज्यान गई सकेकाले सरकारको ध्यानाकर्षण गरिएको बताए । सडक बिस्तारका क्रममा अस्तब्यस्त रहेको सडकको खाल्डो सम्याउनु पर्ने, सडक धुलाम्मे हुने भएकाले दैनिक पानी पटाउनुपर्ने र निर्माण कार्य तीब्र गतिमा गर्नुपर्ने कटहरी कांग्रेसको माग छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले जनताका जायज माग भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराइने बताएपनि सडक अवरोध भइरहदा उनले सम्बोधन गरेका छैनन् ।
गत साउनमा कटहरी हुलाकी मार्ग संघर्ष समिति र जिल्ला प्रशासन कार्यालयबीच सहमति भएको थियो । हुलाकीमार्ग संघर्ष समितिले प्रशासन कार्यालयमा केही दिन धर्ना दिएको थियो ।
समयमै सडक निर्माण गर्न सरकारमार्फत ठेकेदारलाई दवाब दिने सहमति भएपछि धर्ना रोकिएको थियो ।
त्यसअघि मोरङमा रहेका प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र पालिका प्रमुखहरुले काठमाडौंमा गएर सडक बारे सरकारलाई दवाव दिएका थिए । नेपाल सरकारबाट सडक निर्माणको ठेक्कापाएको श्रेष्ठ कन्ट्रक्शनले पेटीका रुपमा अन्य ठेकेदारहरुलाई निर्माणका जिम्मा दिएको छ ।
साना ठेकेदारले काम गरेको रकम नदिइएकाले सडकको काम रोक्नु परेको बताएका छन् ।
सडकको किनार खनेर छाडिएकाले कटहरी खण्डमा दैनिक रुपमा सवारी दुर्घटना हुने गरेको छ । दुबै किनारमा नालाका लागि पर्खाल लगाइएपनि कतिपय ठाउंमा सडकतर्फ माटो नभरिएकाले खाडलमा सवारी साधन छिरेर दुर्घटना हुने गरेको छ ।
View : 371
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved