Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

रास्वपा कोशी प्रदेश अधिवेशन :

यज्ञमणिले चन्द्र बहादुरको भोट मागेपछि गोमाले मञ्चबाटै थर्काइन्

उद्‌घोष संवाददाता
२७ जेठ २०८३, बुधवार

Advertisement

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयन गर्ने क्रममा मोरङ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले अध्यक्षका उम्मेदवार चन्द्रबहादुर राईको पक्षमा भोट मागेका छन् ।

वर्तमान प्रदेश सभापति गोमा तामाङ (सरिन) ले कसैले पनि प्यानल बनाएर उम्मेदवारहरूको भोट नमाग्ने सहमतिविपरीत सांसद न्यौपानेले भोट माग्दै हिँडेको भन्दै मञ्चबाटै चेतावनी दिएकी हुन् ।

पाँचवर्षे कार्यकाल रहने प्रदेश सभापति पदका लागि मोरङका चन्द्रबहादुर राईसहित वर्तमान सभापति गोमा तामाङ, तेह्रथुमका डा. खगेन्द्र कटुवाल र झापाका चन्द्रबहादुर गौली प्रतिस्पर्धामा छन् ।

तर सांसद न्यौपानेले चन्द्रबहादुरको भोट माग्दै हिँडेको थाहा पाएपछि तामाङले उनलाई मञ्चबाट थर्काएकी हुन् ।

‘एउटा व्यक्ति अथवा एउटा प्यानल बोकेर कुनै माननीयहरू हिँड्छन् भने कोशी प्रदेशले यो कुरा स्वीकार्दैन । म हिजोदेखि सुन्दै छु, मलाई पनि मन दुख्छ। मैले कुनै पनि माननीयलाई बोकेर हिँडेको छैन । भोट माग्दा “म पनि छु है” भनेको छु,’ उनले भनिन्, ‘तर कुनै माननीयलाई लिएर हिँडेको छैन । मेरो लागि कुनै पनि माननीयले भोट मागेका छैनन् । केही माननीयहरूले संगठन बिथोल्ने प्रयास गर्दैछन् । खबरदार, खबरदार! सरिन तामाङ यहाँ जिउँदै छ, मरेको छैन। अझै पनि चुनाव हारेको छैन, यो कुरा ख्याल गर्नुहोस् ।’

अधिवेशनस्थलमा रहेका रास्वपाका कार्यकर्ताहरूका अनुसार वर्तमान सभापति तामाङ पहिल्यैदेखि सांसद न्यौपानेलगायतको भूमिकाप्रति असन्तुष्ट थिइन्। सरिन रास्वपाको स्थापनाकालदेखि नै सक्रिय रहेकी छन् । उनले पहिलो पाँचवर्षे कार्यकालमा प्रदेश सभापति भएर पार्टीका लागि योगदान गरेको बताउने गरेकी छन् ।

तर राईलाई सभापति बनाउन वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह पक्षधरहरूले भित्रभित्रै लबिङ चलाएपछि उनी असन्तुष्ट बनेकी छन् । राईलाई सभापति बनाउन रास्वपाका महामन्त्री रहेका बालेननिकट भूदेव शाह सक्रिय रूपमा लागेको जनाइएको छ । शाहकै निर्देशनमा अधिवेशनस्थलमा रहेका प्रतिनिधिहरूमाथि राईलाई नै सभापति बनाउने गरी तयार रहन भनिएको जनाइएको छ ।

सरिनले भने आफूले पनि पार्टीका लागि दुःख गरेको बताइन् । कसैको काँधमा चढेर आफूले कोशीमा राजनीति नगरेको बताइन्। उनले एउटा व्यक्तिलाई जिताउने भूमिका देखिएका सांसदलाई कोशी प्रदेशमै निषेध गर्ने चेतावनीसमेत दिएकी छन् ।

‘यो हेक्का होस्। यहाँ एउटा व्यक्ति जिताउनका लागि सिंगो माननीयहरू लाग्नुपर्छ भने, भोलि ती माननीयहरूलाई कोशी प्रदेशमा निषेध गर्छु म,’ उनले भनिन्, ‘तपाईंहरूलाई जनताले जनताको हक, अधिकार र न्यायका लागि आवाज उठाउन संसद् भवनमा पठाएका हुन्, संगठन बिथोल्न होइन । संगठन बिथोल्न होइन ।’

उनले मञ्चबाटै चेतावनी दिँदै सांसदलाई आफ्नो पदीय मर्यादामा बस्न आग्रह गरिन् । आफूले कुनै पनि प्यानल नबनाई सभापति पदका लागि चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ ।

कोशी प्रदेशमा कुनै पनि गुटबन्दी हुनु हुँदैन भन्ने मान्यताका साथ आफू अघि बढेको जानकारी दिँदै उनले प्रतिस्पर्धाबाट जो जितेर आए पनि स्वीकार्छु भनेर हिँडेको बताइन् ।

तामाङले भनिन्, ‘म चेतावनी दिँदै छु । आफ्नो ठाउँमा बसेर सके उम्मेदवारहरूलाई मिलाएर लैजानुस्। तर एउटा उम्मेदवार जिताउनका लागि सिंगो प्यानल बोकेर हिँड्न पाइँदैन ।’

View : 200

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved