Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

सूर्योदयमा पर्यटक प्रहरी पोष्ट स्थापना गर्छु: मुख्यमन्त्री कार्की

उद्घोष सम्वाददाता
१५ साउन २०८१, मङ्गलवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इलामको पर्यटकीय क्षेत्र सूर्योदयमा पर्यटक प्रहरीको पोष्ट स्थापना गर्ने आश्वासन दिएका छन् । मंगलबार इलाम पुगेका मुख्यमन्त्री कार्कीले आगामी हिउँदमा चिया सम्मेलन समेत गर्ने बताएका हुन् ।

उनले इलामको चिया र कृषि क्षेत्रलाई पर्यटनसँग जोडेर विकास गर्न सकिने बताउँदै पर्यटकको सहजीकरणका लागि पर्यटन प्रहरी पोष्ट स्थापना गर्ने बताए ।

कोशी प्रदेश सरकारले भेडेटारमा पहिलो पटक पर्यटक प्रहरी पोष्ट स्थापना गरेको छ । मंगलबार इलामको सूर्योदय नगरफालिकाको बार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यत्रममा बोल्दै मुख्यमन्त्री कार्कीले पर्यटकीय गन्तव्य बनेको इलाममा पनि पोष्ट स्थापना गर्ने बताएका हुन् ।

कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरिएको जानकारी दिंदै त्यसअघि नै पर्यटक प्रहरी पोष्ट स्थापना भइसक्ने बताएका हुन् । 

इलामको पर्यटन विकासका माध्यमबाट कोशी प्रदेशको समेत विकासमा सहयोग पुग्ने बताउँदै यसलाई सफल पार्न आग्रह गरे । 

मुख्यमन्त्री कार्कीले राजनीतिक अस्थिरताले विकास निर्माणमा समस्या भएको पनि बताए । उनले प्रदेशमा भइरहेको सरकारको फेरबदल र राजनीतिक अस्थिरताले जनतामा नैराश्यता बढाएको स्वीकार गर्दै आफू नेतृत्वको सरकारले यस्तो अवस्थालाई चिरेर अघि बढ्ने दाबी गरे ।

सूर्योदय नगरपालिकाले नेपालकै सबै पालिकाहरु मध्ये केही क्षेत्रमा उत्कृष्टता हाँसिल गरेको भन्दै आगामी दिनमा अझ राम्रो काम गर्न आग्रह गरे । नगरपालिकाको विकासमा प्रदेश सरकारले समेत आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य समशेर राईले इलाममा भेटेरिनरी अस्पताल स्थापना गर्न सरकारले सहजीकरण गरेको भन्दै प्रशंसा गरेका थिए । 

कार्यक्रममा प्रदेश सभा सदस्य खिनु लङ्वा लिम्बू, संविधान सभा सदस्य लीला श्रेष्ठलगायत राजनीतिक दलका नेता कार्यकर्ता, स्थानीय अगुवा लगायतको उपस्थिति थियो । 

सुर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले नगरलाई सुशासन कायम गर्दै विकास निर्माणमा अगाडि बढिरहेको बताए । 

View : 166

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved