विराटनगर । कर्तव्य ज्यान मुद्दामा तीनवटै अदालतबाट जन्मकैदको सजाय तोकिए पनि फरार रहेका तीन अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
मोरङको साविक रमितेखोला–४ हाल मिक्लाजुङ गाउँपालिका–१ का ३८ वर्षीय सन्तोष राईको हत्या गरि फरार भएका सोही ठाउँ बस्ने ४८ वर्षीय जित बहादुर राई, ४१ वर्षीय गंगा भन्ने ज्ञान बहादुर राई र ४० वर्षीय लक्ष्मण राईलाई प्रहरीले पक्राउ गरेको हो ।
जित बहादुर र गंगा भन्ने ज्ञान बहादुर राईलाई सोमबार मोरङकै मिक्लाजुङ गाउँपालिका–१ बाट र लक्ष्मणलाई मंगलबार बिहान झापाको काँकडभिट्टाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले बताए ।
वि.सं २०६४ जेठ २० गते राति मोरङको मिक्लाजुङ–१ का हर्कराज राईको घरपैँचोमा भएको आपसी विवादमा उनीहरूले सन्तोषलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो ।
हत्यापछि सन्तोषको शवलाई मिक्लाजुङ गाउँपालिका–१ स्थित केमुना भञ्ज्याङको जङ्गलमा खाल्डो खनी पुरेर तीनैजना अभियुक्त फरार भएका थिए ।
सो घटनाको अनुसन्धानपछि प्रहरीले दायर गरेको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङले २०७७ फागुन १८ गते उनीहरूलाई जन्मकैदको सजाय सुनाएको थियो ।
उच्च अदालत विराटनगरको २०७८ पुस २३ गतेको फैसला र सर्वोच्च अदालतको २०८० साउन १६ गतेको फैसलाले समेत जिल्ला अदालतको सुरु निर्णय सदर गरेको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी कैद सजाय भुक्तानीका लागि सोमबार जिल्ला अदालत मोरङमा पेश गरिएको हो ।
अदालतको आदेश अनुसारलाई सोमबार नै मोरङ जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
View : 405
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved