विराटनगर । कोशी प्रदेश सभाको छैटौं अधिवेशनमा प्रदेश सभाका सत्तापक्षका दलहरूले मुलुकमा अहिले राजनीतिक स्थिरताको आवश्यकता रहेको बताएका छन् ।
छैटौं अधिवेशनको पहिलो बैठकमा दलको तर्फबाट सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र नेकपा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोले वर्तमान सरकारले नै स्थिरता निर्माण गर्ने भन्दै अब सरकारको काम गर्ने संरचना बन्ने बताएका हुन् ।
कांग्रेस संसदीय दलका नेता थापाले कोशी प्रदेशको राजनीतिक र सामाजिक मुद्दाहरू अरू प्रदेशको भन्दा फरक भएका कारण भर्खरै बनेको सरकारले विस्तारै काम गर्ने संरचना बनाइरहेको प्रष्टिकरण दिए ।
‘कोशी प्रदेशको राजनीतिक, सामाजिक मुद्दाहरू अरू प्रदेशभन्दा फरक छन्, दुई बर्ष त केही गर्नै सकिएन, अहिले बल्ल सरकार बनेजस्तो भएको छ’ उनले भने, ‘अब काम गर्ने आधार संरचना बनाउँदैछ, प्रदेशलाई स्थायित्व दिनका लागि सरकारले दर्बिलो भएर काम गर्छ ।’
एमालेका उपनेता मेन्याङ्बोले अहिले जनताले आशा गरेअनुसारकै सरकार बनेको बताए । उनले सवै दल एकतावद्ध भएर गएको खण्डमा मात्रै विकासको लक्ष्य पुरा हुने बताए ।
‘जनताले आशा अपेक्षा गरेको सरकार बनेको छ, सवै काम पूरा गर्ने सरकार हो यो, अहिले सबै एकतावद्ध भएर जानुपर्छ’ उनले भने, ‘तर अहिले नकारात्मक कुरामात्रै उछाल्ने काम भएको छ, यो प्रवृत्ति भने राम्रो होइन ।’
उनले प्रदेश सरकारका लागि लगानी सम्मेलन अत्यावश्यक रहेकोले उक्त सम्मेलन सरकारले गरेरै छाड्ने बताए । त्यसैगरी सरकारले विकास निर्माणलाई अघि बढाउन कोसिस गरिहेको जानकारी दिए ।
‘अब जनताले आशा गर्नुपर्ने स्थिति सिर्जना भएको छ’ उनले भने, ‘हाम्रा अगाडि थुप्रै समस्या पनि छन्, विकास निर्माणसाथै सामाजिक र मानव संशाधनका क्षेत्रमा पनि काम गर्नुपर्नेछ, सीमित स्रोतसाधन भएकोले उचित रूपमा प्रयोग गर्दै जानेछ ।’
View : 68
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved