Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन गरिने’

उद्घोष सम्वाददाता
१९ भदौ २०८१, बुधवार

काठमाडौँ, १९ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन यथाशीघ्र संशोधन गरी समयसापेक्ष बनाइने बताएका छन् ।

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको छलफलमा मन्त्री साहले प्रक्रिया पूरा गरेर ऐन संशोधन गरिने बताए ।

उनले विसं २०८१ मा ऐन संशोधन गरिसक्ने गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

“कानुन बनाएर वा संशोधन गरेर मात्र पुग्दैन, यसको कार्यान्वयन पनि हुनुपर्छ ।

कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्छ, अहिले पनि नागरिकको शारीरिक शोषण भइरहेका छन्, यो लज्जास्पद विषय हो ।

तसर्थ कानुन संशोधनमार्फत् यस्ता विषयको सम्बोधन हुन्छ”, मन्त्री साहले भने ।
 
मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठले मानव बेचबिखन विशेषगरी महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजाय गर्ने परिपूरक उपलेख, २००० (पार्लेमो प्रोटोकल) कार्यान्वयनका लागि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्नुपर्नेमा जोड दिए । 

पार्लेमो प्रोटोकल नेपालले सन् २०२० जुन १६ मा अनुमोदन गरेको थियो ।

नेपालले पार्लेमो प्रोटोकल अनुमोदन गरेको चार वर्ष बितिसक्दा पनि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा संशोधन हुन सकेको छैन ।

कार्यक्रममा मञ्चका अध्यक्ष गीता अर्याल, अधिवक्ताद्वय रोजिना श्रेष्ठ र विनोदचन्द्र देवकोटालगायतले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता पूरा गर्न पनि यथाशीघ्र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ संशोधन हुनुपर्नेमा जोड दिएका थिए । रासस

View : 87

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved