विराटनगर । जीएनजी आन्दोलनपछिको सुरक्षा संवेदनशिलताका कारण नेपाल भारत खुल्ला सीमानामा हातहतियार तथा विष्फोटक पदार्थ भित्रिने खतरा बढेको छ । दुई सातादेखि सीमावर्ति क्षेत्र लगभग खुल्ला जस्तै छ ।
विराटनगर भन्सार नाकामा ढाट लागेकाले सवारी साधनको आवतजावत नभए पनि खुल्ला सिमाना भएका जिल्लाका सबै क्षेत्रमा बोर्डर खुल्ला जस्तै छ ।
नाकामा ढाट लगाएर सवारी साधनलाई रोक लगाइएपनि भारी बोकेर आउने ब्यक्तिलाई खुल्ला छ ।
विराटनगर भन्सार क्षेत्रबाट ब्यापारिक प्रयोजनका सामान आफैंले बोकेर दैनिक करोडांैको वस्तु मानिसले भित्र्याउने गरेका छन् ।
सीमामा निगरानी छ भनें भारतीय सीमा सुरक्षा बल (एसएसबी) को मात्रै जस्तो छ ।
एसएसबीले सीमा पार गर्न दुबै देशका नागरिकलाई अनिवार्य परिचय खुल्ने प्रमाण हेर्ने गरेको छ ।
‘नागरिकता बोकेका मानिसलाई मात्रै नेपाल आउन दिने एसएसबी सडकमा मात्रै हुन्छन्, खेत र आलीको बाटोबाट मानिसको आवतजावत छ’ मोरङ जहदाका सीमावर्ति क्षेत्रका एक युवकले भने ।
आन्दोलन बढी भएको जिल्लाका प्रहरी प्रमुख सरूवा हुनु र नयाँले जिम्मेवारी लिन नभ्याउनुको शून्यको अवधिलाई आपराधिक क्रियाकलाप गर्नेले सदुपयोग गरेका छन् ।
‘बन्दुक र बम लिएर भारतबाट नेपाल आए पनि सहज अवस्था छ’ भारतीय सीमावर्ति क्षेत्रका एक स्थानीयबासीले भने ‘भारततिर मात्रै कडाई छ, नेपालमा खुल्ला छ ।’
आन्दोलनपछि बनेको अन्तरिम सरकारमा तत्लो तहसम्म सम्पर्क नभएका मानिसहरू छन् ।
सुरक्षा निकायलाई पनि कडाइका साथ निगरानीमा पठाउन आदेश दिने ब्यक्ति सरकारमा नरहेकाले सीमामा कमजोर अवस्था देखिएको बताइएको छ ।
एक सुरक्षा अधिकारीले हास्दै भने ‘कसले कसलाई आदेश दिने अवस्था छ, आदेश दिने कर्मचारी र सुरक्षा अधिकारीनै सरूवाको पर्खाईमा छन् ।’
नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरूले नै देशका महत्वपूर्ण निकायको सुरक्षा गर्न नसकेको अवस्थामा उनीहरू जिल्लाका प्रमुखहरूलाई सरूवा गरेर पानी माथिको ओभानो हुने प्रयासमा छन् ।
मोरङमा सोमबार मात्रै प्रमुख भएर कार्यभार संहालेका प्रहरी उपरिक्षक कवित कटुवाल आएकै दिन सीमावर्ति क्षेत्रको सम्पूर्ण जानकारी लिएको र सुरक्षा सतर्कता बढाएको दाबी गर्छन् ।
प्रहरी र जनताको समन्वयमा सीमावर्ति क्षेत्रमा हुने आपराधिक कृयाकलाप नियन्त्रण गर्ने बताउँदै उनले आन्दोलनपछि सबै क्षेत्रमा सुरक्षा कम रहेकाले पहिलेको भन्दा मजबुत बनाएर जाने बताए ।
सीमा र जनताको सुरक्षाको जिम्मेवारी लिएका दुबै निकाय यति बेला सडक र सीमा क्षेत्रमा पूर्ण रूपमा फर्कन सकेका छैनन् ।
यस्तो अवस्थामा नेपाल भारत सीमा क्षेत्रमा अपराधलाई पेशा बनाएका ब्यक्तिहरू चलायमान हुनु स्वाभाविक हो ।
‘सीमामा तस्करी र अराजकता बढेको छ, सुरक्षा परिचालन छैन’ नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ५ का सचिव मोहम्मद फैयाजले भने ।
सहरी क्षेत्रमा नै नियमित निगरानीमा उत्रन नसकेको सुरक्षा निकाय सीमावर्ति क्षेत्रमा तैनाथ नहुनुलाई सामान्य रूपमा लिइएपनि यो भयावहको अवस्था भएको जानकारहरू बताउछन् ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी इश्वर कार्की भने भारतीय सुरक्षाकर्मीले नै कन्ट्रोल गरेकाले सीमा क्षेत्र सुरक्षित रहेको बताउँछन् ।
उनले आन्दोलनपछि दुबै देशका सुरक्षाकर्मी संयुक्त रूपमा सीमाको गस्तिमा निस्कने गरेको बताए ।
आन्दोलनपछि दुबै देशका सुरक्षा अधिकारीबीच संयुक्त बैठक बसेर सीमा क्षेत्रको सुरक्षालाई सामान्यीकरण गर्दै लगेको कार्कीले जानकारी दिए ।
View : 311
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved