विराटनगर । नेपाली वायर तथा केबल उद्योगमा अग्रणी नाम लिट्मस इन्डस्ट्रिज लिमिटेडले आफ्नो दोस्रो पावर पार्टनर्स मिट २०८१ कार्यक्रम सम्पन्न गरेको छ । केबल्सले काठमाडौंको हायात होटलमा आयोजित कार्यक्रममा देशैभरबाट लिट्मसका डिलर तथा वितरकका साथसाथै एमइपी, इपिसी तथा कर्पोरेट पार्टनर्सहरु गरी दुई सय जनाको सहभागीता थियो । कार्यकममा कम्पनीको तर्फबाट जानकारीमूलक प्रस्तुतिका साथै उपलब्धिमूलक नेटवर्किङ सेसनको पनि आयोजना गरिएको जनाइएको छ ।
नेपालभरिबाट कार्यक्रममा सहभागी भएका च्यानल पार्टनरहरुको सहभागीतामा भएको कार्यक्रममा लिट्मसले आफ्ना महत्त्वपूर्ण कोसे ढुंगा, भावी योजनाका साथै नेपाली बजारकै पहिलो वातावरणमैत्री तार लिट्मसको इकोवायर जेडएचबारे पनि जानकारी गराएको थियो ।
कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक रोहित गुप्ताले कम्पनीको करिब पाँच दशकको यात्रा र उपलब्धिहरुबारे विस्तृत रुपमा चर्चा गरेका थिए । कम्पनीका उपाध्यक्ष साथै नेपाल विद्युतीय उत्पादक संघ (निमा) का सचिव समेत रहेका सरोज मिश्राले लिट्मसको सुरुवात, हालको बजार उपस्थिति र कम्पनीको विकासको प्रचुर सम्भावनाबारे धारणा राखेका थिए ।
मिश्राले कम्पनीलाई नेपाली बजारमा अग्रणी उत्पादकको रुपमा कायम राख्न कम्पनी गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रति प्रतिबद्ध रहेको कुरामा पनि जोड गरेका थिए ।
कार्यक्रमको अवसरमा कम्पनीले आफ्नो सुरक्षा र गुणस्तरप्रतिको लगाव र विश्वासलाई कसरी हासिल गरिरहेको र कायम राखिरहेको छ भन्ने कुरालाई पनि प्रष्ट पारेको थियो । सोही कार्यक्रममा कम्पनीले आफ्नो महत्त्वाकांक्षी र रणनैतिक भावी योजना अन्तर्गतको अत्याधुनिक प्रविधि र विशाल उत्पादन क्षमतासहितको परासीमा बन्दै गरेको नयाँ उत्पादन युनिट ‘लिट्मस २.०’ बारे पनि सहभागीलाई जानकारी गराएको थियो ।
उक्त नयाँ युनिटले कम्पनीको उत्पादन क्षमता वृद्धि गर्दै र गुणस्तरलाई अझ सुदृढ बनाउँदै बजारको बढ्दो मागलाई सम्बोधन गर्ने र बजारमा कम्पनीको अग्रतालाई अझ बलियो बनाउने कम्पनीको भनाइ छ ।
कम्पनीले सोही आयोजनामा इनामेल, मल्टिस्ट्र्याण्ड, इकोवायर जेडएच् र इमर्जिङ डिलर गरी चार विधामा सर्वोत्कृष्ट हुन सफल भएका डिलरहरुलाई पुरस्कृत गरिएको जनाइएको छ ।
पुरस्कारले कम्पनीको सफलता र सम्बृद्धिमा डिलरहरुको महत्त्वमाथि प्रकाश पार्दै लिट्मसले आफ्ना च्यानल पार्टनर्सहरुसँगको गहिरो सम्बन्धलाई सधैं केन्द्रमा राखेको कुरालाई पनि पुष्टि गरेको थियो । कार्यक्रममा बेजोड नृत्य, आकर्षक उपहारको लागि प्रश्नोत्तर, लाइभ ब्याण्ड लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरु पनि समावेश गरिएको थियो ।
लिट्मस पावर पार्टनर्स मिट २०८१ को समापन नेटवर्किङ सेसन, सल्लाह सुझाव आदान–प्रदान र उद्योगी व्यवसायीहरु बीच आगामी दिनमा सहकार्य गर्ने सदभाव र आकांक्षासहित समापन भएको जनाइएको छ । लिट्मस इन्डस्ट्रिज र व्यवसायी, च्यानल पार्टनर्स, लगानीकर्ता, बैंकिङ–इन्स्योरेन्स पार्टनर्स लगायत सम्पूर्ण सरोकारवालाहरु बीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुने र सहकार्य मजबुत हुने अपेक्षा राखिएको पनि जनाइएको छ ।
View : 134
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved