Biratnagar, Morang, Nepal
२८ भदौ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

राष्ट्रिय बालदिवसमा महेन्द्र माविमा प्रतिभा प्रस्फुटन तथा पुरस्कार वितरण

उद्‌घोष संवाददाता
२८ भदौ २०८३, आइतवार

Advertisement

विराटनगर । विराटनगर–८ स्थित महेन्द्र माध्यमिक विद्यालयमा राष्ट्रिय बालदिवस–२०८३ को अवसर पारेर प्रतिभा प्रस्फुटन, पुरस्कार वितरण तथा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको छ ।

विद्यालय परिसरमा शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्यलगायत विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए । विद्यार्थीमा लुकेर रहेका प्रतिभा पहिचान गरी त्यसलाई प्रस्फुटन गराउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न कला तथा सिर्जनात्मक प्रस्तुतिको प्रशंसा गर्दै उनीहरूलाई थप हौसला प्रदान गरिएको थियो । विद्यालयले पढाइसँगै विद्यार्थीको क्षमता, प्रतिभा र सिर्जनशीलताको विकासमा समेत जोड दिँदै आएको जनाएको छ ।

कार्यक्रमका अवसरमा अघिल्लो शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने तथा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । पुरस्कार प्राप्त गर्ने विद्यार्थीलाई आगामी दिनमा अझ मेहनत र लगनशीलताका साथ आफ्नो क्षमता अभिवृद्धि गर्न प्रेरित गरिएको थियो ।

यसैगरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई विद्यालयले स्वागत गरेको छ । नयाँ विद्यार्थीलाई विद्यालयको शैक्षिक तथा सामाजिक वातावरणमा घुलमिल हुँदै अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय हुन आग्रह गरिएको जनाइएको छ ।

कार्यक्रममा विद्यार्थी नेतृत्व विकासलाई समेत प्राथमिकता दिइएको थियो । विभिन्न जिम्मेवारी निर्वाह गर्ने विद्यार्थीलाई नेतृत्वदायी भूमिका प्रदान गरिएको हो । विद्यार्थीहरूले विभिन्न गतिविधिबाट संकलन गरेको रकम प्रधानमन्त्री राहत कोषका लागि विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरणसमेत गरेका थिए ।

कार्यक्रममा विद्यार्थी, शिक्षक–शिक्षिका तथा अभिभावकको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै सिर्जनशीलता, नेतृत्व क्षमता र सकारात्मक प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने बताएका थिए ।

विद्यालयका शिक्षक एवं सूचना अधिकारी ठाकुरप्रसाद पोखरेलले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूको प्रतिभा तथा क्षमता प्रस्फुटनका लागि विद्यालयले नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

View : 91

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved