Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

सातौँ  अन्तरराष्ट्रियआमन्त्रित राइनो गोल्ड कप सुरु

उद्‌घोष सम्वाददाता
३ कार्तिक २०८१, शनिवार

मध्यविन्दु , ३ कात्तिक ।  दुर्लभ एकसिङ्गे गैँडासंरक्षणका लागि जनचेतना जगाउने ध्येयले नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को कोल्हुवामा सातौँ अन्तरराष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता  आजदेखि सञ्चालन हुँदै छ । 

मध्यविन्दु नगरपालिका–२ कोल्हुवास्थित राइनो रङ्गशालामा आयोजना हुने सो प्रतियोगितामा ‘ए’ डिभिजनका तीन वटासहित भारतीय टिमका   १२ क्लब सहभागी हुनेछन् ।

खेलकुदका माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्या–पर्यटनको वृद्धि गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नेलगायतका उद्देश्यले प्रतियोगिता आयोजना गरिएको राइनो क्लबका अध्यक्ष दोमन भण्डारीले बताए ।

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले उद्घाटन गर्नुहुने प्रतियोगिताको उद्घाटन खेलमा हनामी क्लब र देशभक्त फुटबल क्लब भिड्ने छन् ।

भारतको मणिपुरबाट फुटबल क्लब आमन्त्रित रूपमा खेलमा सहभागी हुने राइनो क्लबका अध्यक्ष भण्डारीले जानकारी दिए । 

यही कात्तिक १४ गतेसम्म हुने प्रतियोगिताको विजेताले उपाधिसहित आठ लाख पुरस्कार हात पार्नेछ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको अध्यक्ष भण्डारीले बताए ।

प्रतियोगिता विसं २०७० देखि सञ्चालन हुँदै आएको छ । रासस

View : 188

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved