Biratnagar, Morang, Nepal
३० कार्तिक २०८३, सोमवार
+977 21 450305, 515728, 578305
वातावरण

नमुना सामुदायिक वनको साधारणसभा

उद्‌घोष संवाददाता
२९ कार्तिक २०८३, आइतवार

Advertisement

सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका–५ मा रहेको नमुना सामुदायिक वन उपभोक्ता समूहको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

हसिना सिमसारसमेत समेटिएको सो सामुदायिक वनले वनको दिगो व्यवस्थापनसँगै सिमसार क्षेत्रको संरक्षण, विकास र पर्यटन प्रवद्र्धनलाई आगामी कार्ययोजनामा प्राथमिकता दिएको छ । 

समूहका अध्यक्ष घनश्याम न्यौपानेको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८२–८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरि सञ्चालन गरिएका कार्यक्रम, वन व्यवस्थापन, उपभोक्तालाई काठ तथा दाउरा वितरण, रोजगारी सिर्जना र वातावरण संरक्षणका गतिविधिबारे जानकारी गराइएको थियो ।

समूहले संस्थाको नियमित सञ्चालनका लागि १२ पटक कार्यसमिति बैठक, एकपटक साधारणसभा र १६ पटक अन्य संयुक्त बैठक गरी कुल २९ वटा बैठक तथा सभा सञ्चालन गरेको जनाएको छ । 

त्यसैगरी वन व्यवस्थापनका क्रममा रोजगारी सिर्जना गरी उपभोक्तालाई आयआर्जनमा जोड्ने, विभिन्न संघसंस्थालाई आर्थिक सहयोग उपलब्ध गराउने तथा मरीमराउका लागि उपभोक्ता र वडावासीलाई निःशुल्क दाउरा उपलब्ध गराउने कार्यसमेत गरिएको छ ।

सो  सामुदायिक वनको महत्त्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा रहेको हसिना सिमसारको संरक्षण र प्रवद्र्धनका लागि पोखरी तथा आसपासको क्षेत्र सरसफाइ, वृक्षरोपण र झाडी व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिएको छ । 

डिभिजन वन कार्यालय विराटनगरबाट विनियोजित बजेटमार्फत तारजाली तथा वृक्षरोपण कार्यक्रमसमेत सम्पन्न गरिएको छ । विश्व सिमसार दिवस पनि हसिना सिमसारमै आयोजना गरिएको प्रतिवेदनमा उल्लेख छ ।

सचिव कविराज राईले आगामी योजना र रणनीतिबारे जानकारी गराउँदै सामुदायिक वनको संरक्षणलाई थप व्यवस्थित बनाउने, उपभोक्ताको आवश्यकता र हितलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्ने तथा हसिना सिमसारको संरक्षण र पर्यटकीय सम्भावनालाई उपयोग गर्ने विषय आगामी कार्ययोजनाका महत्वपूर्ण पक्ष रहेको बताएका थिए । 

उनले वन संरक्षणलाई केवल संस्थाको जिम्मेवारीका रूपमा नभई सम्पूर्ण उपभोक्ता र स्थानीय समुदायको साझा दायित्वका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिका–५ का वडाध्यक्ष गणेश चौधरीले सामुदायिक वन र हसिना सिमसार यस क्षेत्रका महत्त्वपूर्ण प्राकृतिक सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षण र विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । उनले वन तथा सिमसार क्षेत्रलाई वातावरणीय संरक्षणसँगै पर्यटन र स्थानीय आर्थिक गतिविधिसँग जोडेर अघि बढाउनुपर्ने बताए । 

सामुदायिक वनको संस्थागत सुदृढीकरण, पारदर्शी व्यवस्थापन र उपभोक्ताको सक्रिय सहभागिताबाट मात्रै संरक्षणका प्रयास दीर्घकालीन र प्रभावकारी बन्न सक्ने उनको भनाइ थियो । 

सभामा लेखा समिति संयोजक इन्द्रबहादुर राईले आर्थिक तथा लेखा परीक्षणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रतिवेदनमा हसिना सिमसारमा माछापालनबाट प्राप्त आम्दानीमध्ये नौ जनालाई सेयरबापतको रकम प्रतिव्यक्ति फिर्ता गरिएको विवरणसमेत समेटिएको छ ।

कार्यक्रममा सहभागी अतिथि वक्ताहरूले सामुदायिक वनको दिगो व्यवस्थापन, वन पैदावारको न्यायोचित उपयोग, संस्थागत पारदर्शिता, जैविक विविधताको संरक्षण तथा हसिना सिमसारको पर्यटकीय विकासका विषयमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

सभाले वार्षिक प्रगति प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदनमाथि छलफल गर्दै आगामी आर्थिक वर्षका योजना, कार्यक्रम र बजेट व्यवस्थापनसम्बन्धी विषयमा निर्णय गरेको छ ।

View : 24

३० कार्तिक २०८३, सोमवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved