Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न ‘सीआईएम इन्डष्ट्री एक्सपेरियन्स जोन’

यहाँ ‘मेरो देश मेरै उत्पादन’ अभियान अन्तरगत नै जोनलाई प्रभावकारी बनाउन उद्योगीहरूबीच प्रत्यक्ष अन्तरक्रिया, सहकार्य र व्यवसायिक साझेदारी विस्तारका लागि संवादको थलोको रुपमा विकास गर्ने संगठनले जनाएको छ ।
उद्‌घोष संवाददाता
४ वैशाख २०८३, शुक्रवार

विराटनगर । स्वदेशी उद्योगहरूका उत्पादन प्रदर्शन र प्रवद्र्धनका लागि उद्योग संगठन मोरङमा स्थापना गरिएको ‘सीआईएम इन्डष्ट्री एक्सपेरियन्स जोन’ प्रभावकारी थलो बनेको छ । 

‘मेरो देश मेरै उत्पादन’ नारालाई अभियानका रुपमा अघि बढाइरहेका पूर्वका उद्योगी व्यवसायीले आफ्ना उत्पादन प्रवद्र्धन गर्न यो थलोको प्रयोगलाई बढाएका छन् ।

उद्योग संगठन मोरङको सचिवालयमै ‘एक्सपेरियन्स जोन’ स्थापना गरिएको छ । यहाँ स्वदेशी उद्योगहरूको उत्पादन र उद्योगको जानकारीलाई अवलोकनकर्ता अनुकूल हुने गरी प्रदर्शनीमा राखिएको छ ।

स्वदेशी उत्पादनको प्रवद्र्धन तथा अवलोकनका लागि निर्माण गरिएकोे जोन उद्योगी व्यवसायीदेखि विद्यार्थी र सर्वसाधारणका लागि जानकारीमुलक थलोका रूपमा विकसित गरिएको संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताए । उनले अहिले कम्तिमा पनि ४० वटा उद्योगका उत्पादनलाई जोनमा प्रदर्शनमा राखिएको बताए ।

जोनमा उपभोक्ताले दैनिक प्रयोग गर्दै आएका विभिन्न प्रकारका खाद्य सामग्रीदेखि जुत्ता–चप्पल र अन्य दर्जनौं औद्योगिक उत्पादनहरूलाई व्यवस्थित रूपमा सजाएर राखिएको छ । उद्योगका उत्पादनलाई एकैठाउँमा राखेर ‘एक्सपेरियन्स जोन’ तयार गरिएको छ ।

‘हाम्रा स्वदेशी उत्पादनहरूको प्रवद्र्धन गर्ने र उद्योगहरूलाई पनि आफ्नो उत्पादन चिनाउने अवसर प्रदान गर्ने मुख्य उदेश्य हो’ अध्यक्ष राठीले भने, ‘नयाँ पुराना उद्यमीदेखि विद्यार्थीहरूले प्रत्यक्ष रूपमा उद्योगका उत्पादन, गुणस्तर र प्याकेजिङबारे एकै ठाउँबाट जानकारी लिन सक्नेछन्, यसैका लागि यो ठाउँ महत्वपूर्ण बनेको छ ।’

जोनलाई लगानीकर्ता, बैंक तथा उद्योगीबीच नियमित संवाद गर्ने थलोका रुपमा समेत विकास गर्न सकिनेबारे संगठनले छलफल गरिरहेको उनले जानकारी दिए ।

संगठनले उद्यमशीलता विकास, सीप अभिवृद्धि तथा उद्योग प्रवद्र्धनका विविध कार्यक्रम सञ्चालन गर्दै आएको र त्यसैको एक महत्वपूर्ण पहलका रूपमा ‘मेरो देश मेरै उत्पादन’ अभियानलाई समेत टेवा पु¥याउन जोन प्रभावकारी थलो बनेको अध्यक्ष राठीले बताए ।

उद्योग संगठन र मोरङ व्यापार संघले संयुक्त रुपमा ‘मेरो देश, मेरै उत्पादन’ अभियान २०७७ चैत १३ गते संयुक्त रुपमा सार्वजनिक गरेका थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको औपचारिक उद्घाटन गरेका थिए ।

स्वदेशी उत्पादनको प्रवद्र्धन, आत्मनिर्भर अर्थतन्त्र निर्माण, बढ्दो व्यापार घाटा न्यूनीकरण र औद्योगिक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ ‘मेरो देश, मेरै उत्पादन’ अभियानको घोषणा गरिएको थियो ।

यसरी अघि बढाइएको नारालाई सार्थकता प्रदान गर्न संगठनले स्थापना गरेको ‘एक्सपेरियन्स जोन’ प्रभावकारी बनेको उद्योग संगठन मोरङका तत्कालिन अध्यक्ष सुयश प्याकुरेलले बताए । अभियान राष्ट्रव्यापी रुपमा परिचित भएको उनले बताए ।

अध्यक्ष प्याकुरेलका अनुसार यो अभियान कोभिडको बेलामा सोचिएको अभियान हो । 

‘म भर्खरै उद्योग संगठनको अध्यक्ष भएको थिएँ, त्यतिबेला आयात कम हुँदा पनि स्वदेशी वस्तुले नै कोभिडको बेलामा बजार धानेको थियो’ उनले भने, ‘खुल्ला सीमानाले गर्दा दक्षिणतिर हामीले हाम्रा उत्पादन बेच्न सक्ने अवस्था थिएन, कोभिडको समयमा आवात जावत हुन छाडेपछि दक्षिणतिर एकदमै माग आउन थाल्यो, चोरीपैठारी पनि रोकिएको थियो, नेपालको दक्षिणी सीमा क्षेत्र ठुलो बजार रहेछ भनेर थाहा पायौं र आत्मनिर्भरता हुन सकिने रहेछ भन्ने यो अभियान नै सुरु गर्नुपर्छ भनेर सुरु गर्यौं ।’

उनले अहिले ‘मेरो देश मेरै उत्पादन’ को नेमोनिक लोगो हजार बढी उत्पादनमा लागेको दाबी गरे । स्वतस्फूर्त रुपमा लागो लाग्दै जाँदा अहिले सवैको अभियान बनेको उनले बताए ।

‘धेरै उत्पादनहरूमा यो लोगो प्रयोग भएको छ, साना तथा मझौला उद्योगले आफ्ना उद्योगमा एकदमै धेरै यो लागो प्रयोग गरेका छन्’ प्याकुरेलले भने, ‘वहाँहरूमा स्वदेशी उत्पादन प्रवद्र्धन गर्नुपर्छ भन्ने एकदमै धेरै सचेतना जागेको छ ।’

उद्योग संगठनमा हाल प्रदर्शनी कक्षका रूपमा जोन सञ्चालित छ । यहाँ ‘मेरो देश मेरै उत्पादन’ अभियान अन्तरगत नै जोनलाई प्रभावकारी बनाउन उद्योगीहरूबीच प्रत्यक्ष अन्तरक्रिया, सहकार्य र व्यवसायिक साझेदारी विस्तारका लागि संवादको थलोको रुपमा विकास गर्ने संगठनले जनाएको छ ।

उद्योगीहरूले उत्पादन गरेका सामग्रीहरूलाई अद्यावधिक गर्दै नयाँ उद्योगलाई समेत समेट्दै लैजाने जनाइएको छ ।

साथै, ‘प्रोडक्ट अफ द मन्थ’ जस्ता अवधारणा लागू गर्दै स्वदेशी उत्पादन प्रवद्र्धन गर्न पहल गरिने जनाइएको छ । त्यसका लागि उत्पादनको डिजिटल क्याटलग, क्यूआर कोड र ई–कमर्ससँग जोड्न पनि पहल भइरहेको जनाइएको छ ।

View : 137

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved