Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशको लगानी सम्मेलन माघ ११–१३ मा

उद्घोष सम्वाददाता
१४ असोज २०८१, सोमवार

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११ देखि १३ सम्म पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ ।

प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा औद्योगिक वातावरण बनेको सन्देश दिन लगानी सम्मेलन गर्न लागिएको जनाइएको छ । 

आइतबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले लगानी सम्मेलनको अवधारणा पारित गर्दै मिति समेत तय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए । निजी क्षेत्रको सहकार्य र समन्वयमा सरकारले लगानी सम्मेलन गर्ने तयारी अघि बढाएको उनले बताए । 

कोशी प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाएको थियो । 

प्रदेश लगानी प्राधिकरणले लगानी सम्मेलनको आवश्यक समन्वय, सहजीकरण र लगानीको क्षेत्रहरू तय गर्ने जनाइएको छ । प्रदेश सरकारले यो कार्यक्रम सम्पन्न गर्न करिब ३ करोड बजेट छुट्याएको छ ।

पिपिपी मोडेलको लगानी अवधारणालाई आत्मसात गर्दै निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रूपमा संलग्न गराउने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागिएको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले जानकारी दिए ।

लगानी सम्मेलनमा नेपाल, भारत र तेस्रो मुलुकका समेत लगानीकर्ताहरूलाई आमन्त्रण गरिनेछ । 

प्रदेशका सम्भावित आयोजनाको क्षेत्र पहिचान गरि ती क्षेत्रमा लगानी भित्र्याउन प्रदेश सरकारले संघ र स्थानीय तहको नीतिगत व्यवस्थालाई सुधार गर्न पहल गर्ने जनाइएको छ । साथै प्रदेशले गर्नुपर्ने कानून संशोधन पनि तत्कालै अघि बढाउने तयारी सरकारको छ ।

View : 105

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved