विराटनगर । विराट युवा विचारक मञ्चले हालै भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विजयी विराटनगरका तीनवटै क्याम्पसका पदाधिकारी तथा सदस्यहरूलाई शनिबार अभिमुखीकरण सम्पन्न गरेको छ ।
तीनवटा राजनीतिक दलका नेताहरुको सहभागितामा भएको अभिमुखीकरणका सुरुमा एलिट क्लबका महासचिव तथा अग्रज पत्रकार यज्ञ शर्माले विद्यार्थी आन्दोलनको बदलिदो स्वरुपको चर्चा गर्दै वर्तमान अवस्थामा स्वतन्त्र विद्यार्थी युनियनको भूमिका स्तरीय पठनपाठनका लागि गतिशील भएर काम गर्नुपर्ने बताए ।
उनले आवश्यक परे स्ववियूले क्याम्पस प्रशासन र सरकारलाई समेत दवाब दिन सक्नुपर्ने सुझाव दिए ।
नेकपा माओवादीका नेतृ गीता तिम्सिनाले स्वतन्त्र विद्यार्थी युनियनमा विजयी युवाहरुले इमान्दार र अनुशासित नेतृत्वका रुपमा आफूलाई विकास गर्नुपर्ने बताइन् ।
नेकपा (एमाले) मोरङका उपाध्यक्ष सागर थापाले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव संसदीय चुनाव जस्तै खर्चिलो बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै अबको विद्यार्थीले गुणस्तरीय शिक्षाका लागि दवाबमुलक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसका नेता फूलकुमार लालवानीले राजनीतिक आन्दोलन सकिए पनि संविधानको कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ आंैल्याए ।
बुद्धिजीवी दिनेश श्रेष्ठले विद्यार्थीहरुले पठन संस्कृतिमा ध्यान दिनुपर्ने सुझाव दिए ।
मञ्चका संयोजक प्रमिल अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा विराटनगरस्थित महेन्द मोरङ आदर्श बहुमुखी क्याम्पस, डिग्री क्याम्पस र नर्सिङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनमा विजयी पदाधिकारी तथा सदस्यहरु सहभागी रहेका थिए ।
नवनिर्वाचितहरुको तर्फबाट स्ववियू सभापतिहरु डिग्री क्याम्पसका प्रितम साह, मोरङ क्याम्पसका रोहित यादव र नर्सिङ क्याम्पसका रोहितकुमार ताजपुरियाले मन्तव्य व्यक्त गरेका थिए ।
View : 427
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved