खोटाङमा बाघको आतंक :
खोटाङ । खोटाङमा बाघले स्थानीय किसानका दुई दर्जन पशुचौपाया मारेपछि जिल्ला प्रहरी कार्यालय खोटाङले बाघ नियन्त्रणका लागि डिभिजन वन कार्यालय खोटाङलाई आग्रह गरेको छ ।
बाघ मार्ने अधिकार नभएका कारण प्रहरीले नियन्त्रणका लागि वन कार्यालयलाई पत्रचार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।
“जङ्गलबाट गाउँ पसेको बाघले आतङ्क मच्याएको खबर जिल्लाका विभिन्न ठाउँका स्थानीय बासिन्दाबाट प्राप्त भएको छ । सबैभन्दा बढी केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित मामातिमका स्थानीय बासिन्दाको पशुचौपाया क्षति गरेको विवरण प्राप्त भएको छ”, उनले भने, “बाघ संरक्षित जनावर हो, बाघ मार्ने अधिकार कसैलाई पनि छैन, त्यसैले नियन्त्रणका लागि विभिजन वन कार्यालय खोटाङलाई पत्राचार गरिएको हो ।”
जङ्गलबाट गाउँ पसेको बाघले यही साउन दोस्रो हप्तादेखि जिल्लाका विभिन्न स्थानीय तहका किसानले पालेका पशुचौपायामा क्षति गरेको प्रहरीले जनाएको छ । खोरमा राखिएको खसीबाख्रा तथा गोठमा बाँधेर राखिएका गाईभैँसीको बाच्छाबाच्छी पाँठापाँडी खान थालेपछि स्थानीय आतङ्कित भएका छन् ।
बाघले खार्ताम्छास्थित मामातिमका समला राईको एउटा बाख्रा, रञ्जित राईको दुईवटा बाख्रा, देवराज राईको दुईवटा बाख्रा, मिनालक्ष्मी राईको एउटा बाख्रा, भरत विष्टको एउटा बाख्रा, हर्काश खड्काको दुईवटा बाख्रा, कुमारी खड्काको दुईवटा बाख्रा, बुद्धिराज राईको चारवटा सुगुर मारेको जनाइएको छ ।
मामातिम टोलमा मारेको पशुचौपाया गाउँपालिकाको राष्ट्रपति महिला उत्थान तथा जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत अनुदानबाट वितरण गरिएको वडाध्यक्ष वडाध्यक्ष मिलन राईले बताए ।
साउन २१ गते सोमबार राति बाराहापोखरी गाउँपालिका–१ का हाकिमध्वज राईको घर छेउको गोठमा एउटा खसी मार्नुका साथै गोठमा रहेको अर्को खसी करिब पाँच सय मिटर तल लगेर आधा खाएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।
त्यस्तै बाघले दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाडाँगाउँस्थित आरुबोटेका कृष्ण कार्कीको दुईवटा बाख्रा र एउटा खसी सोही दिन मार्नुका साथै एउटा खसी घाइते बनाएको जनाएको छ ।
साउन–१९ गते हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका भीममायाँ चौहानको घरमा बाहिर बाँधेको कुकुर मारेको थियो । त्यसैदिन उक्त गाउँकै पशुपति भण्डारीको खोरमा बाँधेर राखिएको एउटा खसी मारेको र साउन १८ गते दिउँसो चराउन जङ्गल लगेको बेला त्यही गाउँका देवीबहादुर कार्कीको एउटा बोका खाएको प्रहरीले जनाएको छ ।
बाघले जिल्लाका स्थानीय बासिन्दाको पशुचौपायामा गरेको क्षतिको विवरण सङ्कलन गर्न मातहतका वन कार्यालयहरूलाई पत्राचार गरिएको र क्षतिपूर्तिका लागि पहल सुरु गरिएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख पशुपति दाहालले बताए । उनले बाघ नियन्त्रण गर्ने जनशक्ति नभएका कारण प्रहरीको पत्रका आधारमा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई जानकारी गराएको बताए ।
View : 460
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved