Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

१६ पोका बोक्दा जय कुमारले आठ महिनादेखि पाएको दुःख

अनाहकमा फसेको दाबी गर्दै आएका जय कुमारले आफ्नो गाडी निकाल्न दुर्गा घिमिरेलाई हार गुहारेपनि आठ महिनादेखि असफल बनेका छन् । उनले १६ पोका सामान खरिद गर्ने घिमिरेलाई पक्राउ गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीमा हारगुहार गर्दागर्दै ८ महिना बित्यो ।
उद्‌घोष सम्वाददाता
६ भदौ २०८१, बिहिवार

आफ्नो बोलेरोमा सामान हाल्ने भारतीय नागरिकको फोटो देखाउँदै जय कुमार राई । तस्वीर : उद्घोष

विराटनगर । बैदेशिक रोजगारीका क्रममा झण्डै १० बर्ष कतारमा बसेर फर्किएका विराटनगर–७ हाटखोलाका जय कुमार राईले विराटनगरमै बसेर केही काम गरौं भन्ने निश्कर्षमा पुगे । सवारी चलाउने सीप भएका उनले २०७८ मा एउटा बोलेरो फिकअप किनेर सामान ढुवानीलाई आफ्नो नयाँ काम बनाए ।उनले इटहरीलाई ढुवानी व्यवसायको बेस बनाएर पहाडी जिल्लाहरुबाट तरकारी फलफुल धेरै पटक धनकुटा, भेडेटार र धरान ल्याए । 

ढुवानीमा जम्दै गएका जय कुमार २०८० को दशैं मनाएपछि काममा फर्किने क्रममा थिए । खाली बोलेरो लिएर विराटनगरबाट इटहरीतर्फ काममा फर्किने बेलामा विराटनगरमा उनलाई दुईजना व्यक्तिले रोके । उनीहरुले सुन्दरहरैंचाको सलकपुरसम्म केही पोका सामान पुर्‍याउनु छ भनेपछि जय कुमारले त्यसको तीन हजार रुपैयाँ भाडा मागे । कुरा मिल्यो । 

विराटनगर–६ सरौचिया ठेगाना भएको ओमेक्स फेसन होजियारीको नामबाट काटिएको प्यान बिलसहित उनको गाडीमा सामान लोड भयो । सामान पठाउने कार्यमा संलग्न दुई व्यक्ति पनि गाडीमा सँगै थिए । बिलसहितको सामान बोकेर २०८० कात्तिक ९ गते दिउँसो करीव १२ बजेतिर जय कुमार कन्चनबारीमा पुगेपछि सशस्त्र प्रहरीको दुईजनाको टोलीले गाडी रोक्यो । सशस्त्रले गाडी रोके लगत्तै दुईजना त्यहाँबाट भागे । अनि, जय कुमार अलमलमा परे । 

‘गाडी किन रोकेको, गाडीमा के बोकेको भन्ने कुरा नै भएन, मसँग बिल भएकोले त्यहि बिल अनुसारको सामान ढुवानी गरेको कुरा सशस्त्रलाई भनें’ घटना सम्झिंदै जय कुमारले भने, ‘बिलमा १६ पोका सामान भनिएको थियो, त्यसभित्र त कुर्ता सुरवाल र कपडाहरु रहेछ, सशस्त्रले मलाई पक्राउ गरेर गाडीसहित भन्सारमा बुझाइदियो, म त नेपालमै केही गरौं भनेर गाडी कुदाएर बसेको मान्छे, भन्सारले मलाई साढे आठ लाख रुपैयाँधरौटी नतिरे जेल बस्नुपर्ने भन्यो, ऋणपान गरेर धरौटी बुझाएँ, अहिलेपनि मेरो गाडी भन्सारले नै राखेको छ ।’

त्यो बिल अनुसार १६ पोका सामान भने सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरस्थित प्रिया भनिने दुर्गा घिमिरेको नाममा ढुवानी भएको पत्ता लगाए । उनले विराटनगर भन्सार कार्यालयमा ८ लाख ५० हजार ६०० रुपैयाँ धरौटी बुझाएपछि घिमिरेको खोजीमा लागे । जय कुमारले घिमिरेलाई भेटेर आफुलाई फसाइएको भन्दै सोही वडाका जनप्रतिनिधिहरुसहित छलफल गराए ।

यो घटनामा दुर्गा घिमिरेसमेत फस्ने भएपछि जय कुमारलाई ५ लाख ५० हजार ६०० रुपैयाँ दिएर मिलाउने प्रयास गरे । विभिन्न व्यक्तिहरुबाट ऋण सापटी गरेर धरौटी तिरेर निस्किएका जय कुमारको गरिखाने एउटै माध्यम बनेको बोलेरो भने भन्सारले अहिलेसम्म नियन्त्रणमै राखेको छ । 

अनाहकमा फसेको दाबी गर्दै आएका जय कुमारले आफ्नो गाडी निकाल्न दुर्गा घिमिरेलाई हार गुहारेपनि आठ महिनादेखि असफल बनेका छन् । उनले १६ पोका सामान खरिद गर्ने घिमिरेलाई पक्राउ गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीमा हारगुहार गर्दागर्दै ८ महिना बित्यो । 

मनकामना तयारी पोषाक नामक फर्मकी संचालक घिमिरेसलकपुरमै लुकिछिपी आफ्नो व्यवसाय चलाउँदै आएको जय कुमारले पत्ता लगाए ।भन्सारले पक्राउ गर्न आदेश दिएपनि उनलाई प्रहरीले पक्राउ नगरेपछि आफन्तहरुको सहयोगमा भदौ ३ गते दुर्गालाई आफ्नै पसलमा फेला पारेर प्रहरीलाई बुझाएको दाबी गरे । 

पक्राउ परेकी घिमिरे पनि बुधबार ८ लाख ५० हजार ६०० रुपैयाँ धरौटी बुझाएर छुटेकी छन् । अब जय कुमारको गरिखाने एउटै सहारा बनेको बोलेरो कसले छुटाइदिने भन्ने झनै अन्यौल बनेको छ । भन्सार कार्यालयले सामान पठाउने ओमेक्स फेसन होजियारीकी प्रोपराइटर गौरीदेवी साहलाई पनि पक्राउ गरेपछि मुद्दाको प्रक्रिया अघि बढ्ने जवाफ दिएको जय कुमारले बताए ।

प्र १–०४००१–च ०११० नम्बरको बोलेरो थन्किएपछि जय कुमार बिरामी आमाको औषधी खर्च र घर खर्च धान्नै कठिन भएको बताउँछन् । आफुलाई अनाहकमा फसाइएको भन्दै न्यायको खोजीमा भौतिरिएका छन् । सामान पठाउन संलग्न रहेका दुईजना व्यक्तिहरु जोगवनीबाट नेपालमा सामान अवैध तस्करीमा संलग्न रहँदै आएको उनले बताए । तस्करीमा संलग्न व्यक्तिहरुलाई पहिचान गरेपनि सीमा नाकामा रहेको सशस्त्र प्रहरीले केही नगरेको उनले गुनासो गरेका छन् ।

बुधबार धरौटीमा छुटेकी दुर्गा घिमिरेको सलकपुरस्थित गोदाममा अहिले पनि ठुलाठुला पोका सामानहरु देखेको बताए । उनले तस्करीमा संलग्नमाथि कारवाही गर्नुको साटो आफुलाई फसाइएको गुनासो गरेका छन् ।  जय कुमारले बुधबार पत्रकार सम्मेलनमार्फत गरिखाने वातावरण नभएको भन्दै दुःख व्यक्त गरेका छन् ।
 

View : 220

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved