विराटनगर । विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लक्षित गरी सिलाइ कटाइ तालिम सुरू भएको छ । रोटरी क्लब विराटनगर डाउनटाउन र आदर्श माध्यमिक विद्यालयको साझेदारीमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सिलाइ कटाइ सम्बन्धी तालिम दिन थालिएको प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए ।
तालिमका लागि विद्यालयले छुट्टै सिलाइ कटाइ सम्बन्धी ल्याब स्थापना गरी एकजना प्रशिक्षकको समेत व्यवस्था गरेको जनाएको छ । हाल रोटरी क्लब विराटनगर डाउनटाउनले प्रदान गरेका सातवटा सिलाइ मेसिनबाट तालिम प्रारम्भ गरिएको बताइएको छ ।
विद्यालयले आफ्ना विद्यार्थीहरूको पढाइको समयलाई दृष्टिगत गरी प्रत्येक दिन विहान ९ बजेदेखि १० बजेसम्म र पुस्तकरहित शुक्रबारका दिन छनोट भएका विद्यार्थीहरूलाई तालिम दिने जनाएको छ । विश्वकर्मा पूजाको अवसर पारेर मंगलबार क्लबकी अध्यक्ष मञ्जु अग्रवालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीलाई सिलाइ मेसिन हस्तान्तरण गरिन् ।
View : 92
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved