Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

एनपीएल दोस्रो सिजनको तयारी

फेरि गुम्यो ललितलाई विराटनगर भित्र्याउने अवसर

उद्‌घोष संवाददाता
२२ असार २०८२, आइतवार

विराटनगर  । नेपाल  प्रिमियर लिग (एनपीएल) मा विराटनगरको टिमबाट ललित राजवंशीलाई हेर्न चाहेका घरेलु दर्शक यसपटक पनि निराश बन्ने भएका छन् । 

नेपाली क्रिकेटका स्टार खेलाडी ललितलाई जनकपुर बोल्ट्सले ‘रिटेन’ गर्दै टिममा दोहोर्‍याउने निर्णय लिएपछि उनलाई विराटनगरको टिमबाट खेलेको हेर्न चाहने दर्शकको चाहना अधुरै रहने भएको हो । 

विराटनगरस्थित जतुवाका ललित गत वर्ष आयोजित एनपीएलको पहिलो सस्करणमा सबैभन्दा बढी विकेट लिने खेलाडी बनेका थिए । 

प्रतियोगिताकै सबैभन्दा उत्कृष्ट खेलाडीका दाबेदारसमेत बनेका उनलाई आउँदो सिजनमा विराटनगरले लिनुपर्ने भन्दै घरेलु दर्शकले तीब्र माग गरेका थिए । तर, जनकपुरले उनलाई छोड्न नचाहेपछि ललितले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सबाटै एनपीएलको दोस्रो सिजन खेल्ने भएका हुन् । 

एनपीएलको पहिलो सिजनमा  सबैभन्दा धेरै विकेट लिने नेपाली बलर बनेका ललित प्रतियोगिताको सवैभन्दा धेरै विकेट लिने सूचीमा पनि सुदूरपश्चिमका स्कट कुगेलेइनसँगै शीर्ष स्थानमै रहे । उनीहरु दुवैले समान १७ विकेट लिएका थिए ।

प्रतियोगितामा कूल १०  खेल खेलेका ललितले सबै खेलमा गरी कूल ४० ओभर बलिङ गरेका थिए ।  उनले आफ्नो पूरै ओभर बलिङ गर्दै १७ विकेट हात पारेका हुन् ।  

त्यसक्रममा ५ ओभर मेडन राखेका उनले २१३ रन खर्चिएका थिए । ललितले आफूले खेलेका १० मध्ये एउटा खेलबाहेक सबैमा विकेट लिएका थिए । 

ललितको उच्च लयको प्रदर्शन र विराटनगरको कमजोर प्रदर्शनले दिक्क बनेका विराटनगरका दर्शकले ललितलाई दोस्रो सिजनमा विराटनगरमा ल्याउनुपर्ने भन्दै सामाजिक सञ्जाल रंगाएका थिए । 

ललितलाई यो सिजनमा भित्र्याउने बताउँदै आएको विराटनगर किङ्सको व्यस्थापनले अघिल्लो वर्षका कप्तानसमेत रहेका सन्दीप लामिछानेलाई मार्की खेलाडीका रुपमा निरन्तरता दिएको छ । 

दोस्रो  सिजनको नेपाल प्रिमियर लिगका लागि विराटनगर किंग्सले  लामिछानेसहित ६ खेलाडी रिटेन गरेको छ । पहिलो सिजनमा गोलामा ललितलाई लिने अवसर विराटनगरले गुमाएको थियो । 

विराटनगरले सन्दीपलाई मार्कीको रुपमा टोलीमा राख्दा लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, सुवास भण्डारी र नरेन भट्टलाई टोलीमा राखेको हो । 

उनीहरूले यो सिजन पनि विराटनगरबाटै एनपीएल खेल्ने छन् । विराटनगरले रिटेन गरेका यी सबै खेलाडी पहिलो सिजनमा राम्रो प्रदर्शन गर्न नसकेका खेलाडीहरु हुन् । पहिलो सिजनमा सन्दीप आफै पनि चल्न सकेका थिएनन् । 

विराटनगरले यसपटक पाँच जना खेलाडीलाई रिलिज गरेको छ ।  राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, मृनाल गुरुङलाई टिमले रिलिज गरेको हो ।

नेपाल प्रिमियर लिगको पहिलो सिजन विराटनगरका लागि बिर्सनलायक बनेको थियो । छैटौं स्थानमा रहेर पहिलो सिजन अन्त्य गरेको विराटनगरले जम्मा दुई खेलमा मात्र जीत हात पारेको थियो । न्युजिल्यान्डका विस्फोटक ब्याटर मार्टिन गप्टिलसहितको विराटनगर टोलीले मैदानमा राम्रो छाप छोड्न सकेको थिएन । 

एनपीएल नेपाली क्रिकेटको पहिलो फ्रेन्चाइजी प्रतियोगिता हो । विदेशका चर्चित खेलाडीले पनि सहभागिता जनाएको यो प्रतियोगिता नेपाली खेलकुद इतिहासकै सर्वाधिक सफल र ठूलो आयोजना बनेको थियो ।

View : 593

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved