सर्लाही, १७ असार । जिल्ला अदालत सर्लाहीले बालिकामाथि यौनजन्य कसुर गरेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय फैसला गरेको छ ।
आज न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई १० वर्ष कैद र पीडितलाई पाँच लाख क्षतिपूर्ति भराउने आदेश फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
गत सोमबार ‘तपस्वी’ बम्जनले बालिका माथि यौनजन्य कसुर गरेको ठहर गरेको थियो । सोही विषयमा आज सजाय सुनाइएको हो ।
बालिकाको परिवारले सर्लाहीको लालबन्दी नगरपालिकास्थित पत्थरकोटमा रहेको आश्रममा रहेका बेला बारा जिल्लाको निजगढ नगरपालिका–१२ निवासी ३० वर्षीय बम्जनले यौनशोषण गरेको भन्दै २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा किटानी जाहेरी दिएको थियो ।
सोही मुद्दामा बम्जनलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–६ स्थित निवासबाटै गत पुस २४ गते साँझ सिआइबीको टोलीले पक्राउ गरेको थियो । पुस २६ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि बम्जन जिल्ला कारागार महोत्तरी जलेश्वरमा छन् ।
‘लिटिल बुद्ध’ समेत भनिने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ । बम्जनविरुद्ध पाँच परिवारले उजुरी दिएका छन् । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोप छ ।
View : 434
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved