Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

२१ विद्युत ट्रान्सफर्मर चोरिएपछि समातिए पाँच जना

उद्‌घोष संवाददाता
१४ साउन २०८२, बुधवार

विराटनगर । लगातारजसो विद्युत ट्रान्सफर्मर चोरिएपनि संलग्नलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन नसकेको प्रहरी र नेपाल विद्युत प्राधिकरणलाई पछिल्लो प्रयासले जवाफ दिने ठाउँ तयार गरेको छ । 

एक वर्षभित्र झापा, मोरङ र सुनसरीमात्रै ५० देखि १०० केभीका २१ वटा विद्युत ट्रान्सफर्मर तोडफोड गरी त्यहाँभित्र हुने तामाको क्वायल चोरी भएपछि चोरीमा संलग्नहरूको खोजीमा प्रहरीको विशेष टोली नै परिचालन गर्नु परेको थियो । 

चोरीमा संलग्नहरूको निगरानी बढाउने क्रममा मोरङ प्रहरीले अहिलेसम्म पाँचजनालाई पक्राउ गरिसकेको जनाएको छ । 

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालले ट्रान्सफर्मर चोरीको बिषयमा ठूलो गिरोहकै संलग्नता रहेकोले अनुसन्धान चलिरहेको बताइन् । 

उनले अनुसन्धान पूरा हुन समय लाग्ने भएकोले पक्राउ परिसकेका व्यक्तिहरूको विवरण गोप्य राखिएको जानकारी दिइन् ।

नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयका अनुसार सवैभन्दा बढी सुनसरीमा ११ वटा ट्रान्सफर्मर चोरी भएका छन् । 

मोरङमा ८ र झापामा २ ट्रान्सफर्मर चोरी भइसकेको प्राधिकरणले जनाएको छ । 

चोरीमा संलग्न व्यक्तिहरूले ११ हजार भोल्ट विद्युत प्रवाह हुने लाइनसमेत अवरुद्ध गरेर मध्यरातमा ट्रान्सफर्मर फुटाएर त्यहाँभित्र रहने तामाको क्वायल निकालेर लैजाने गरेका थिए । 

२१ वटा ट्रान्सफर्मर चोरिंदा दुई करोड बढीको क्षति हुनुका साथै खानेपानी आयोजनाबाट भइरहेको पानी वितरण र बोरिङबाट गरिने सिंचाई समेत रोकिएको प्राधिकरणले जनाएको छ ।

लगातार ट्रान्सफर्मर चोरी भएपछि नेपाल प्रहरीले चोरी हुनसक्ने सम्भावित स्थानमा निगरानी बढाएर पहिलो पटक पा“च जना आरोपीलाई नियन्त्रण लिन सफल भएको जनाइएको छ । 

मोरङमा पहिलो पटक साउन ८ मा रंगेली नगरपालिका–९ इँटाभट्टाबाट एक व्यक्ति पक्राउ परेका थिए । 

प्रहरीले मध्यरातमा ट्रान्सफर्मर नजिकै शंकास्पद गतिविधि गरिरहेको अवस्थामा भेटेको थियो । ती व्यक्तिको साथबाट विद्युतको तार र ट्रान्सफर्मर तोडफोड गर्न प्रयोग गरिने औजार समेत बरामद गरेको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरीले अनुसन्धानकै क्रममा सुनसरीबाट थप चारजनालाई नियन्त्रणमा लिएर सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

प्राधिकरणका कोशी प्रदेश प्रमुख राजिव सिंहले प्रहरीले केही मानिस पक्राउ गरेर अनुसन्धान अघि बढाएका कारण अब चोरीको सवै कुरा खुल्दै जाने बताए । 

उनले विद्युतसम्बन्धि राम्रोसँग जानकारी भएको प्राविधिक व्यक्तिहरूको समेत ट्रान्सफर्मर चोरीमा संलग्न रहेको हुनसक्ने आशंका व्यक्त गरे ।

View : 390

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved