Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

इरान–इजरायल युद्धको असर :

प्लास्टिक दाना महँगियो, नेपाली उद्योग संकटमा

युद्धअघि भारतीय बजारमा सामान्य ग्रेडको प्लास्टिक दाना प्रतिटन नौ सयदेखि १ हजार १ सय अमेरिकी डलर हाराहारीमा पाइने गरेकोमा अहिले युद्ध चर्किएसँगै ढुवानी र बीमा शुल्कसमेत बढ्दा यही दाना प्रतिटन १ हजार ५ सय डलरसम्म पुगेको उद्योगीहरूको दाबी छ ।
उद्‌घोष संवाददाता
५ जेठ २०८३, मङ्गलवार

विराटनगर । मध्यपूर्वमा जारी इरान–इजरायल युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालका प्लास्टिक उद्योगहरू प्रत्यक्ष प्रभावित हुन थालेका छन् । 

कच्चा पदार्थको अभाव र ढुवानी समस्याका कारण प्लास्टिक दानाको मूल्य आकासिएपछि उद्योगीहरू चिन्तित बनेका छन् ।

प्लास्टिकजन्य वस्तु उत्पादन गर्ने उद्योगका अनुसार युद्धका कारण समुद्री ढुवानी असहज बनेको छ । यसका कारण कच्चा पदार्थ आयातमा निकै ढिलाइ हुन थालेको उद्योगीहरूको भनाइ छ । 

विशेषगरी मध्यपूर्व क्षेत्र हुँदै आउने पेट्रोलियम पदार्थ तथा त्यसबाट बन्ने कच्चा पदार्थको आपूर्तिमा समस्या आएको छ । उत्पादन लागत बढेका कारण सरकारी विकास निर्माणका कामसमेत प्रभावित भएका छन् ।

अन्य उद्योगलाई प्लास्टिकका तयारी बोतल, जार तथा कन्टेनर सप्लाइ गर्दै आएको विराटनगरस्थित एमएम प्लास्टिक इण्डस्ट्रिजका सञ्चालक सुयश प्याकुरेल पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सम्पूर्ण उत्पादन क्षेत्र प्रभावित बनेको बताउँछन् । 

उनको उद्योगले खानेपानी तथा ढलनिकास एवम् भूमिगत विद्युतीकरणमा प्रयोग हुने एचडीपीई पाइप पनि उत्पादन गर्दै आएको छ । 

सरकारी बजेट खर्च गर्ने बेलामा प्लास्टिकको मूल्य बढ्दा सरकारले कि मूल्य पुनरावलोकन गर्नुपर्ने कि निर्माण कार्य नै रोक्नुपर्ने अवस्था सिर्जना भएको प्याकुरेल बताउँछन् ।

‘प्लास्टिकको दाना नै पेट्रोलियम पदार्थबाट बन्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा त्यसको सीधा असर हामीमाथि परेको छ,’ उनले भने, ‘ढुवानी खर्चदेखि कच्चा पदार्थसम्म सबै महँ्रगो भएको छ ।’

नेपालमा प्रयोग हुने अधिकांश प्लास्टिक दाना भारत, चीन, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, दक्षिण कोरिया तथा मलेसियाबाट आयात हुने गरेको उद्योगीहरू बताउँछन् । 

नेपालमा प्लास्टिक दाना उत्पादन नहुने भएकाले सम्पूर्ण रूपमा आयातमै निर्भर रहनुपरेको छ । 

विशेषगरी पोलिप्रोपिलिन, पोलिथिन, एचडीपीई, एलडीपीई तथा पीईटी ग्रेडका दाना भारतका बन्दरगाह हुँदै नेपाल भित्रिने गरेका छन् ।

युद्धअघि भारतीय बजारमा सामान्य ग्रेडको प्लास्टिक दाना प्रतिटन नौ सयदेखि १ हजार १ सय अमेरिकी डलर हाराहारीमा पाइने गरेकोमा अहिले युद्ध चर्किएसँगै ढुवानी र बीमा शुल्कसमेत बढ्दा यही दाना प्रतिटन १ हजार ५ सय डलरसम्म पुगेको उद्योगीहरूको दाबी छ । केही विशेष ग्रेडका दानामा अझ बढी मूल्यवृद्धि भएको उनीहरूको भनाइ छ ।

उद्योगीहरूका अनुसार, युद्धका कारण हर्मुज सामुद्रिक मार्ग असुरक्षित बनेपछि ढुवानी कम्पनीहरूले अतिरिक्त जोखिम शुल्क लिन थालेका छन् । जसले गर्दा बीमा शुल्क पनि बढेको छ । 

कतिपय जहाजले वैकल्पिक समुद्री मार्ग प्रयोग गर्न थालेपछि सामान आइपुग्ने समयसमेत लम्बिएको छ । 

उद्योगीहरूका अनुसार पहिले २५ देखि ३० दिनमा नेपाल आइपुग्ने कच्चा पदार्थ अहिले ४५ दिनदेखि दुई महिनासम्म लाग्न थालेको छ ।

इरान–इजरायलबीचको युद्धमा अमेरिका समेत संलग्न भएपछि तनाव थप चर्किएको हो । 

इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अखडामाथि ड्रोन तथा मिसाइल आक्रमण जारी राखेकाले स्थिति साम्य हुनुको साटो झन् प्रतिकूल बनेको उद्योगीहरू बताउँछन् ।

युद्धकै प्रभावस्वरूप इरानले विश्व व्यापारका लागि महत्वपूर्ण मानिने हर्मुज सामुद्रिक मार्गमा निगरानी कडा बनाएको छ । 

यही मार्ग हुँदै विश्वको ठूलो परिमाणमा कच्चा तेल तथा पेट्रोलियमजन्य पदार्थ ओसारपसार हुने गर्दछ । 

युद्धले सबै प्रकारका पेट्रोलियम पदार्थको आपूर्ति शृंखला बिग्रिएपछि अन्य खर्च पनि बढेको उद्योगीहरू बताउँछन् । 

तेल प्रशोधन कम्पनीहरूले उत्पादन घटाउँदा दानाको उपलब्धता कम हुनुका साथै मूल्य महँगो हुँदै गएको उनीहरूको भनाइ छ ।

नेपालमा प्रयोग हुने प्लास्टिक दानाको मूल स्रोत क्रुड अर्थात अप्रशोधित आयल नै हो । 

क्रुड आयल प्रशोधन गर्दा पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्याससँगै प्लास्टिक, रसायन, कृत्रिम फाइबर तथा प्याकेजिङ सामग्री उत्पादनमा प्रयोग हुने विभिन्न बाइप्रोडक्ट उत्पादन हुने गर्छन् ।

उद्योगीहरूका अनुसार पछिल्ला केही सातायता प्लास्टिक दानाको मूल्य निरन्तर बढिरहेको छ । 

यसको असर दैनिक उपभोग्य वस्तुको प्याकेजिङदेखि खानेपानीका बोतल, तेलका जार, औषधिका कन्टेनर र औद्योगिक सामग्रीसम्म देखिन थालेको छ । 

प्लास्टिक दानामा भएको मूल्यवृद्धि तथा ढुवानीमा भएको ढिलाइका कारण केही उद्योगहरूले उत्पादन आधा घटाइसकेको उद्योगीहरूको भनाइ छ ।

View : 707

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved