विराटनगर । शुक्रबार रातिको अविरल वर्षापछि आएको बाढीले पाँचथरको याङवरक र हिलिहाङ गाउँपालिकामा ठूलो क्षति पुगेको छ ।
बाढीले पाँचथरको हिलिहाङ गाउँपालिका–२ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ मा तमोर नदीमाथि निर्माणाधिन लिम्बुनी पुलको पिलर बाहेकका अधिकांश संरचना बगाएको छ ।
सवैभन्दा धेरै क्षति याङवरकको वडा नम्बर २ र ३ मा पुगेको छ । गाउँपालिका उपाध्यक्ष बाबा मेयाङ्बोका अनुसार याङ्वरक–२ दोभानेमा एकवटा र वडा नम्बर १ मा दुईवटा झोलुङ्गे पुल बाढीले बगाएको छ ।
याङवरक–२ दोभानेस्थित नाम्रेक र फलैचा जोड्ने झोलुङ्गे पुल तथा वडा नम्बर १ को च्याङ्थापु र चाम्लिङडाँडा, च्याङ्थापु र एकराते बजार जोड्ने झोलुङ्गे पुल बगाएको हो ।
बाढीले वडा नम्बर ३ मा कुमार श्रेष्ठ, विष्णुप्रसाद किरिङ र धनमाया लावतीको घरगोठ बगाएको छ ।
वडा नम्बर १ मा महमलाल खवास, कविराज राई र बलबहादुर खालिङको घरगोठ र भान्सा बगाएको उपाध्यक्ष मेयाङ्बोले जानकारी दिइन् ।
उनले वडा नम्बर ३ र ४ को संगम रहेको दोभानेस्थित ९.७ मेगावाटको इवा खोला जलविद्युत समेत पूर्ण रुपमा क्षति भएको बताइन् ।
२०८० को बाढीबाट ठूलो क्षति पुगेर पुननिर्माण गरिएको सो जलविद्युत् पुनः यसपटक बगाएको जानकारी दिइन् ।
‘वडा नम्बर १, २, ३ र ४ मा ठूलो क्षति पुगेको छ, मध्यपहाडी लोकमार्ग क्षतिग्रस्त बनेको छ, सवै बाढीले लग्यो, केही छैन, हामी अनुगमनमा जान सक्ने अवस्था पनि छैन’ उनले भनिन्, ‘इवा खोला हाइड्रो बगाएको छ, बाटो सवै लगेको छ, हामी पुग्ने अवस्था छैन ।’
बाढी पहिरोले दजनौं पूर्वाधार संरचनामा क्षति पुगेको जनाइएको छ । बाढी प्रभावित क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।
क्षतिको विवरण संकलन गर्न समेत कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णले बताए ।
मध्यपहाडी राजमार्गको च्याङ्थापु–थर्पु–चिवाभञ्ज्याङ सडक खण्डका ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको जनाइएको छ ।
स्थानीय सडकहरू समेत अवरुद्ध भएका कारण उद्दार गर्न जानै नसकिने अवस्था रहेको गाउँपालिका उपाध्यक्ष मेयाङ्बोले बताइन् ।
बाढीले वडा नम्बर २ मा १० वटा घर परिवार गाउँको दुवैतिरबाट पहिरो आएर जोखिममा परेका छन् ।
गतबर्ष त्यहाँबाट हेलिकप्टरमार्फत स्थानीयलाई उद्धार गर्नुपरेको उनले जानकारी दिइन् ।
‘उहाँहरू बस्तीको दुवैतिर पहिरो गएर बीचमा पर्नुभएको छ, तर सवैजना सुरक्षित हुनुहुन्छ भन्ने जानकारी आएको छ’ उनले भनिन् ।
बाढीले कोशी प्रदेश सरकार र पालिकाको सहयोगमा वडा नम्बर ३ मा निर्माण गरिएको गुप्तेश्वर महादेवको मन्दिर समेत पूर्णरुपमा बगाएको उनले बताइन् ।
बाढी पहिरोले अलैंची खेतीमा पनि व्यापक क्षति पु¥याएको र खोला किनारका धान खेत कटान गरी गेग्ग्र्यान थुप्रिएर पुरिएको जनाइएको छ ।
पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका बीचको हेवा खोलाको डाइभर्सन (बैकल्पिक मार्ग) समेत बाढीले बगाउँदा तमोर करिडोर पनि अवरुद्ध बनेको छ । यो सडकमा सयौं सवारी साधन रोकिएका छन् ।
View : 139
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved