Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

राधाकृष्ण मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठा

उद्‌घोष संवाददाता
२० माघ २०८२, मङ्गलवार

विराटनगर । विराटनगरको वडा नम्बर १६ मा नवनिर्मित राधाकृष्ण मन्दिरमा स्थापना गरिने मूर्तिको प्राणप्रतिष्ठा कार्यक्रम सुरु भएको छ । 

स्थानीय विराट भजन समूहको अगुवाईमा प्रहरी तालिम केन्द्रको दक्षिणपूर्व भगवान राधाकृष्णको मन्दिर तथा सामुदायिक भवन निर्माण गरिएको हो । 

सोही मन्दिरमा स्थापना गरिने मूर्तिको सोमबारबाट पाँच दिने प्राणप्रतिष्ठा समारोह सुरु भएको छ ।

कार्यक्रमको पहिलो दिन भगवान राधाकृष्णको मूर्तिलाई घोडाको बग्गीमा सवार गराई विराटनगर–१६ सहित सीमाका विभिन्न क्षेत्रको परिक्रमा गराइएको छ । 

सो क्रममा नेपाल प्रहरीको ब्याण्डबाजा सहित कलशयात्रा गर्दै मूर्तिलाई नगर परिक्रमा गराइएको हो ।

उक्त क्षेत्रमा भगवान राधाकृष्णको मन्दिर नभएकाले समूहमा आवद्ध महिलाहरूको  लामो प्रयासपछि मन्दिर तथा सामुदायिक भवनको निर्माण गर्न सफल भएको विराट भजन समूहकी अध्यक्ष उमा जोशीले बताइन् । 

मन्दिरमा स्थापना गरिने मूर्तिको दैनिक पुजा अर्चना गर्नुका साथै माघ २३ गते विधिवत प्राणप्रतिष्ठा गरी स्थापना गरिने समूहले जनाएको छ । 

उक्त मन्दिरको निर्माण गर्न स्थानीय चुन्नु गुप्ताले १६ धुर जग्गा दान दिनुका साथै मूर्ति खरीद तथा थप एक लाख रुपैयाँ नगद सहयोग गरेको निर्माण समितिका अध्यक्ष राम थापाले जानकारी दिए । 

हालसम्म मन्दिर निर्माण गर्न ६० लाख बढी खर्च भएकोमा वडा नम्बर १६ कार्यालयले २० लाख रुपैया बजेट उपलब्ध गराएको  उनले जानकारी  दिए । 

पछिल्लो समय प्रदेश सरकारले समेत मन्दिर तथा सामुदायिक भवनका लागि साढे १२ लाख रुपैया बजेट विनियोजन गरेको उनले बताए । 

माघ २३ गते लक्ष्मीनारायण मन्दिर पाञ्चालीका पीठाधिश स्वामी अच्युत प्रपन्नाचार्यले मूर्तिको प्राणप्रतिष्ठा गर्ने जनाइएको छ ।

View : 521

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved