विराटनगर । नेपालकै चर्चित र सफल उद्योगी मानिने राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा यसपटक निर्वाचनमार्फत दोहोरिएका छन् ।
महासंघमा दोहोर्याएर उही जिम्मेवारी सम्हाल्ने संयोग राउतका हकमा यसपटक पनि दोहोरिएको हो । यसअघि उनले उपाध्यक्ष पद पनि दोहो¥याएर सम्हालेका थिए ।
आइतबार मध्यरातमा विराटनगरमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश) को निर्वाचनबाट उद्योगी राउत दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् ।
अघिल्ला दुई कार्यकाल उपाध्यक्षको भूमिकामा रहेर काम गरेका राउत यसपटक प्रत्यक्ष प्रतिस्पर्धाबाट शीर्ष जिम्मेवारीमा पुगेका हुन् । पहिलोपटक उनी सर्वसम्मत अध्यक्ष बनेका थिए ।
महासंघभित्र संघीय संरचना लागू भएसँगै झापा धुलाबारीका नरेन्द्रकुमार खड्का पहिलो प्रदेश अध्यक्ष बनेका थिए भने त्यसपछि झापा भद्रपुरका टीकाराज ढकाल नेतृत्वमा आए । ती दुवै कार्यकालमा राउत उपाध्यक्षका रूपमा सक्रिय थिए ।
प्रदेश राजधानी विराटनगरमै बसेर उनले खेलेको भूमिकालाई पूर्वअध्यक्षहरूले समेत संस्थागत विकासमा ‘मुख्य आधार’ का रूपमा स्वीकार गरेका छन् ।
‘दुई कार्यकालमा उहाँले विराटनगरमा बसेर जुन सक्रियता देखाउनुभयो, महासंघलाई प्रदेशमा स्थापित तुल्याउन त्यसैले ठूलो भूमिका गरेको छ,’ पूर्व अध्यक्ष ढकालले भने ।
यसपटकको चुनावमा उनले पुराना प्रतिस्पर्धी, विराटनगरकै उद्योगी नवीन रिजाललाई पराजित गर्दै नेतृत्व दोहोर्याएका छन् ।
निजी क्षेत्रका चुनावी प्रतिस्पर्धामा दुवैबीच पुरानो भिडन्तको इतिहास पनि छ—२०७४ मा मोरङ व्यापार संघको निर्वाचनमा रिजाल समूह विजयी भएको थियो ।
शिवम् अर्गनाइजेसनमार्फत औद्योगिक क्षेत्रमा स्थापित छवि बनाएका राउत आफ्ना लागि वास्तविक नेतृत्व क्षमताको परीक्षा सुरू भएको बताउँछन् ।
अहिले निजी क्षेत्रमाथि सरकारी निगरानी र कारबाही बढिरहेको सन्दर्भमा महासंघको भूमिका कमजोर देखिएको आरोप बढ्दो छ ।
हालै उद्योगी–व्यवसायी पक्राउ पर्ने घटनाहरू बढिरहेका बेला महासंघको केन्द्रीय नेतृत्व मौन देखिएको भन्दै प्रश्न उठिरहेका छन् ।
विराटनगरमै आयोजित कार्यक्रममा सञ्चारकर्मीले यसबारे सोध्दा केन्द्रीय अध्यक्ष चन्द्र ढकालले प्रत्यक्ष जवाफ नदिई पन्छिएका थिए । यस्तो अवस्थामा प्रदेश नेतृत्वले कस्तो भूमिका खेल्छ भन्ने चासो बढेको छ ।
मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन मूल्य उकालो लागेको लाग्यै छ । यसले अर्थतन्त्रमा थप दबाब सिर्जना गरिरहेको छ । यस्तो पृष्ठभूमिमा राउतले निजी क्षेत्रले दबाबमूलक भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
उनका अनुसार नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र निजी क्षेत्रप्रतिको भरोसा पुनस्र्थापना अहिलेको प्राथमिक कार्यसूची हो ।
‘हामी यसका लागि संस्थागत रूपले पहल गर्नेछौं,’ राउतले भने ‘उद्योगी व्यवसायीको हकहित र अधिकारका लागि लड्ने, वकालत गर्ने विषय त हाम्रो मुख्य दायित्व नै हो ।’
उनले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उत्पादनमुखी क्षेत्रमा जोड्ने कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । महासंघले उद्योगी–व्यवसायीका हकहितका लागि स्पष्ट र संगठित आवाज उठाउने कामलाई निरन्तरता दिने उनको योजना छ ।
संस्थागत पूर्वाधार विस्तारतर्फ पनि महासंघ अघि बढिरहेको उनले जानकारी दिए ।
प्रदेश समितिको आफ्नै भवन निर्माण प्रक्रिया सुरू भइसकेको छ भने आगामी कार्यकालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
राउतले विप्रेषणमा अत्यधिक निर्भर अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेका छन् ।
मध्यपूर्वको अस्थिरताले रोजगारी र आम्दानीमा असर पार्न सक्ने तथा त्यसले दीर्घकालीन रूपमा अर्थतन्त्र संकुचित हुने जोखिम उनले औंल्याए । यसको विकल्पका रूपमा देशभित्रै उत्पादन र रोजगारी सिर्जना गर्नुपर्ने उनको जोड छ ।
कोशी प्रदेशका सम्भावनालाई अघि सार्दै उनले कृषि, पशुपालन, पर्यटन र जलविद्युतलाई प्राथमिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।
चिया, अदुवा, अलैंची, कफी, दूध र मासु उत्पादनजस्ता क्षेत्रमा रहेको सम्भावनालाई नीतिगत प्राथमिकतामा ल्याउन महासंघले वकालत गर्ने उनले बताए ।
गत भदौमा भएको ‘जेनजी आन्दोलन’ का क्रममा व्यावसायिक प्रतिष्ठानमाथि भएको तोडफोड र आगजनीले निजी क्षेत्रको आत्मविश्वासमा गहिरो असर परेको उनको भनाइ छ ।
निजी क्षेत्रलाई व्यक्तिसँग जोडेर हेर्ने प्रवृत्ति अन्त्य गर्न संस्थागत पहल आवश्यक रहेको उनले औंल्याए ।
महासंघको निर्वाचन परिणामले भने राउतको टिमलाई स्पष्ट बहुमत दिएको छ ।
पा“च पदाधिकारीमध्ये तीन उपाध्यक्ष र कोषाध्यक्ष निर्विरोध निर्वाचित भए उनीहरू सबै राउत प्यानलकै हुन् । सदस्यहरू पनि अधिकांश सोही समूहबाट निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार राउतले कुल मतभारको ६७.३७ प्रतिशत प्राप्त गरे ।
जिल्ला नगरतर्फ २४ मत (१८५० मतभार), एसोसिएटतर्फ १०७ मत (३२१० मतभार) र वस्तुगततर्फ ११ मत (३८० मतभार) सहित उनले कुल ४६३० मतभार पाएका छन् ।
उनका प्रतिस्पर्धी रिजालले जिल्ला नगरतर्फ १३ मत (६५० मतभार), वस्तुगततर्फ ६ मत (१२० मतभार) र एसोसिएटतर्फ ३९ मत (११७० मतभार) प्राप्त गर्दै कुल १९४० मतभारमा सीमित भए ।
कुल २०५ मतदाता रहेको निर्वाचनमा जिल्ला नगर र वस्तुगततर्फ शतप्रतिशत मतदान भएको थियो भने एसोसिएटतर्फ एक मत कम खसेको थियो ।
१४ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ८ पदका लागि मतदान भएको थियो ।
तीन उपाध्यक्षमध्ये जिल्ला नगरतर्फ ऋषिराज तिम्सिना, वस्तुगततर्फ राजन श्रेष्ठ र एसोसिएटतर्फ रविनकुमार दाहालसर्वसम्मत चयन भएका छन् ।
कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल पनि निर्विरोध चयन भएका थिए ।
एसोसिएट सदस्यतर्फ देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ पनि निर्विरोध चुनिएका छन् ।
जिल्ला नगरतर्फ पाँच सदस्यका लागि भएको प्रतिस्पर्धामा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना, जयप्रकाश शर्मा, खड्गबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित बन्दा शेरबहादुर भण्डारी र शोभा कोइराला पराजित भएका छन् ।
वस्तुगततर्फ दुई सदस्यका लागि भएको प्रतिस्पर्धामा सुवास आचार्य र दीपक पाण्डे विजयी भए भने धनबहादुर काफ्ले पराजित भए ।
कोशी प्रदेशका उद्योगी व्यवसायीका प्रतिनिधिहरूको प्रष्ट जनादेशसहित दोस्रो कार्यकाल सुरू गरेका राउतका लागि महासंघको संस्थागत मजबुतीसँगै निजी क्षेत्रको आवाज प्रभावकारी रूपमा स्थापित गर्ने चुनौती सामुमा उपस्थित छ । यसका उनी कति सक्षम होलान् ? महासंघमा उनको नेतृत्वको सफलता यसैले निर्धारण गर्नेछ ।
View : 178
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved