Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

विराटनगर किंग्सको कन्सर्टमा झुमे दर्शक

उद्‌घोष संवाददाता
२२ भदौ २०८२, आइतवार

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) टिम विराटनगर किङ्सले विराटनगरस्थित जैन भवनमा शनिबार साँझ एक भव्य र रोमाञ्चक सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । सयौं  दर्शकहरुको उपस्थिति र कलाकारहरुको रोचक प्रस्तुतीले माहोल उत्साहपूर्ण बनेको थियो ।

कार्यक्रमको मुख्य आकर्षण नेपालका लोकप्रिय युवा गायक नितेशजंग कुँवर रहे । कुँवरले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा  कार्यक्रमस्थलमा  ताली र हर्षध्वनी  गुञ्जिएको थियो ।  साथै, स्थानीय प्रतिभाशाली कलाकार शुभम एण्ड द ब्याण्ड र मृत्युन्जयले पनि दमदार प्रस्तुति दिएर दर्शकलाई झुमाएका थिए ।

संगीतमय साँझलाई अझ विशेष बनाउने उद्देश्यले विराटनगर किङ्सले टिकटको मूल्य प्रतिव्यक्ति २०० तोकेको थियो । तर, आफ्ना समर्थकप्रति कृतज्ञता प्रकट गर्न विशेष पहल स्वरूप विराटनगर किङ्सको जर्सी लगाएर आएका दर्शकलाई निःशुल्क प्रवेश दिइयो ।

विराटनगर किङ्सका मालिकहरूमध्ये एक वेङ्कटेश मुन्दडाले भने, ‘विराटनगर किङ्स परिवारले सदैव क्रिकेटमार्फत मानिसहरूलाई एकताबद्ध गर्दै आएको छ । 

अब संगीत, संस्कृति र उत्सवमार्फत पनि हामी समर्थकसँग अझ नजिक हुन चाहन्छौं ।  यो कन्सर्ट हाम्रा समर्थकलाई आभार प्रकट गर्ने माध्यम हो र नेपाल प्रिमियर लिगअघि कोशी प्रदेशमा उत्साह जगाउने उद्देश्यले आयोजना गरिएको हो ।’

विराटनगर किङ्सले ‘कोशीको गौरव, हाम्रो पहिचान’ भन्ने मूल मन्त्रलाई अगाडि सारेको छ । 

यसैबीच, नेपाल क्रिकेट संघ क्यानका अनुसार आगामी नेपाल प्रिमियर लिगमा आठ टोली सहभागी हुने तय भइसकेको छ । प्रतियोगिता मङ्सिर महिनादेखि सुरु हुने घोषणा गरिएको छ ।

View : 361

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved