विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वसांसद धिरेन्द्र शर्माले पार्टी छाडेको घोषणा गरेका छन् ।
तत्कालीन माओवादी केन्द्रको इलाम जिल्ला इञ्चार्जसमेत रहेका शर्माले बिहीबार बिहान करीब ३ बजेतिर सामाजिक सञ्जालमा ‘करीब तीस बर्षको सांगठानिक आवद्धताको अन्त्य, गणतन्त्रपछि अब समाजवादको यात्रामा’ भन्दै स्टाटस लेखेर नेकपा छाडेको घोषणा गरेका थिए ।
माओवादीको सशस्त्र जनयुद्धदेखि नै पार्टीमा सक्रिय रहेका शर्मा २०७४ सालको प्रदेशसभा निर्वाचनमा इलाम क्षेत्र नं. २ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनले पार्टीले एउटा नीति लेख्ने तर कार्यान्वयन गर्ने बेलामा अर्कै नीति लिने प्रवृत्तिविरुद्ध आफूले आवाज उठाएको बताए ।
‘जतापनि मनपरी गर्ने प्रवृत्ति बढ्यो, सरकारहरू पनि त्यस्तै भयो, दलहरूले त्यस्तै गरे, दलतन्त्र कहिल्यै सुधार नहुने भयो’ शर्माले भने, ‘सबैले यो देखेका छन्, तर बोल्ने आँट गर्दैनन्, मैले चैं बोल्ने आँट गरेको हो, यत्तिको ठाउँमा जनताको हली बसेरै भएपनि राजनीति गर्न सकिएला ।’
उनले पुराना दलहरू जनताबाट ‘ड्यामेज’ को अवस्थामा पुगिसकेको बताए ।
‘सवै ड्यामेज भइसकेका छन्, राम्रो कसैले भन्दैनन्’ उनले थपे, ‘नेतृत्वलाई जे नगर्नु भन्यो त्यै गर्ने अवस्था छ ।’
पछिल्लो पटक पार्टीबाट कुनैपनि संसदीय क्षेत्रमा अवसर नपाएका शर्मा आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेकपाबाट उम्मेदवारमा समेत सिफारिस परेनन् । इलाममा दुईवटा निर्वाचन क्षेत्र छन् ।
उनी दुवै क्षेत्रबाट सिफारिस नपरेपछि पार्टी नेताहरूसँग असन्तुष्ट रहँदै आएका थिए ।
इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा कोशी प्रदेश सभाकी वर्तमान सांसद खिनु लङ्वा लिम्बू, रणबहादुर राई, तेजबहादुर राई र विपिन पोखरेलको नाम सिफारिस भएको थियो ।
त्यस्तै क्षेत्र नम्बर २ बाट ओम गुरुङ, शान्ता बस्नेत, प्रवास शर्मा आचार्य, सुरेन राई र नयन राईको नाम सिफारिस गरिएको थियो । शर्मा समानुपातिकमा समेत नसमेटिएको निकट कार्यकर्ताहरूले बताए ।
पूर्व माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल निकट रहेर काम गरेका शर्मा इलामका स्थापित नेता हुन् । उनले तत्कालै कुनै पार्टीमा प्रवेश गर्ने घोषणा भने नगरेको बताए ।
तर, उनी जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध हुनसक्ने भन्दै उनी निकटका स्थानीय नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालमै प्रतिक्रिया दिएका छन् ।
View : 164
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved