Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

३ लाख ७० हजार क्यूसेक बहाव मापन भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

उद्घोष सम्वाददाता
२३ असार २०८१, आइतवार

विराटनगर । कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । कोशी नदीमा यस बर्षको सवैभन्दा बढि ३ लाख ७० हजार क्यूसेक बहाव मापन भएपछि ब्यारेजका सवै ढोका खोलिएको जनाइएको छ ।
शनिबारदेखि कोशी नदीमा बढाव उच्च दरमा बृद्धि भइरहेको जनाइएको छ ।

कोशी ब्यारेजमा पानी बहाव बढिरहेको र अहिले ३ लाख ७० हजार क्यूसेक बहाव मापन भएका कारण सवै ढोका खोलिएको कोशी ब्यारेजस्थित सुरक्षा स्रोतले जनाएको छ । 

सामान्यता डेढ लाख क्यूसेक माथि बहाव भएपछि ब्यारेजमा निगरानी बढाउने गरिएको छ । पानीको बहाव उच्च मापन भएपछि अति खतराको अवस्था उत्पन्न भएको जनाइएको छ । 

सप्तरी र सुनसरी जिल्लालाई जोड्ने गरी कोशी नदीमाथि एक हजार १७५ मिटर लामो ब्यारेज रहेको छ । यो ब्यारेजले पूर्वपश्चिम राजमार्ग जोडिने गरेको छ । 

ब्यारेजमा ४५ फिट अग्ला ढोकाहरु रहेका छन् । यी ढोकाहरु २२ फिट माथिसम्म खोल्न मिल्ने ब्यारेज प्रशासनको भनाई छ । ब्यारेजको रेखदेख र संचालन भारतीय पक्षले गर्ने गरेको छ । 

तत्कालिन अवस्थामा राजा महेन्द्र र भारत सरकारबीच सन् १९५४ मा कोसी ब्यारेज निर्माणको सम्झौता भएको थियो । सम्झौतामा ब्यारेज १९९ वर्षसम्म भारतको नियन्त्रण रहने उल्लेख छ ।

ब्यारेजको निर्माण १९५९ मा राजा महेन्द्र र भारतीय प्रधानमन्क्री जवाहरलाल नेहरुले संयुत्त रुपमा शिलान्यास गरेर थालनी भएको थियो । उद्घाटन सन् १९६५ मा राजा महेन्द्र र भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीले गरेका थिए ।

५० बर्षको आयु रहेको ब्यारेज अहिलेसम्म पनि मर्मत सम्भारको भरमा चलिरहेको छ । २०६५ भदौ २ मा यो ब्यारेजका ढोका नखोलिंदा पूर्वी तटबन्ध भत्किएर सुनसरीको कुशाहा क्षेत्रमा ठुलो डुबान भएको थियो । त्यतिबेला कोशी फुटेर पसेको बालुवाका कारण सयौं विगाह खेतियोग्य जग्गा अहिलेपनि बालुवाले पुरिएर रहेको छ ।

View : 226

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved