Biratnagar, Morang, Nepal
२६ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङ कारागारमा सर्च अपरेशन : १० लाख नगद, १० फलामे रड बरामद

उद्‌घोष संवाददाता
२६ भदौ २०८३, शुक्रवार

Advertisement

विराटनगर । मोरङ कारागारमा लामो समयदेखि विवाद र तनावको केन्द्र बनेको बी ब्लकमा प्रहरीले सर्च अपरेशन गर्दा फलामे रड, मोबाइल र १० लाख रुपैयाँभन्दा बढी नगद बरामद गरेको छ ।

कारागार प्रशासन र सुरक्षाकर्मीको संयुक्त टोलीले बिहीबार बी ब्लकका सबै कोठा तथा कुनाकाप्चामा खोजी गर्दा प्रतिकारका लागि राखिएका १० थान फलामे रड, एन्ड्रोइडसहित दुई थान मोबाइल र १० लाख ३ हजार १५५ रुपैयाँ नगद बरामद गरेको हो । 

‘ती रडहरु हामीलाई प्रतिकार गर्न राखेको हुनुपर्छ’ एक सुरक्षा अधिकृतले भने ।

कारागारभित्र मोबाइल फोन प्रतिबन्ध भए पनि इन्टरनेट नै चलाउन मिल्ने मोबाइल फेला परेको हो । 

जेलर राजन घिमिरेका अनुसार गत साता बी ब्लकमा प्रभाव जमाउँदै आएको समूहका १९ जना कैदीबन्दीलाई विभिन्न सातवटा कारागारमा सरुवा गरिएपछि सर्च अपरेशन गर्न सहज भएको हो । 

‘कैदीबन्दीले सहज बनाइदिएपछि अपरेशन गर्न सम्भव भयो,’ घिमिरेले भने–‘अब कारागार कब्जा गर्न दिँदैनौं भनेका छन् उनीहरुले ।’

वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक लोकेन्द्रसिंह गुरू र कारागार सुरक्षा बेसका सशस्त्र प्रहरी नायव उपरीक्षक बालकृष्ण श्रेष्ठको नेतृत्वमा सुरक्षाकर्मीले बी ब्लकका सबै भागमा खोजी गरेका थिए । 

कारागार प्रशासनका अनुसार बरामद भएका मोबाइल र फलामे रड यसअघि सरुवा गरिएका कैदीबन्दीले राखेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

मोरङ कारागारको बी ब्लकमा लामो समयदेखि केही कैदीबन्दीले प्रभाव जमाउँदै आएको आरोप लाग्दै आएको थियो । 

कुटपिट, रकम असुली तथा शारीरिक र मानसिक यातना दिएको आरोप लागेका समूहका भारतीय नागरिक चञ्चल वर्मासहित १९ जनालाई यसअघि झापा, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, सिन्धुली र पर्साका कारागारमा सरुवा गरिएको थियो ।

सरुवा प्रक्रिया अघि बी ब्लकमा पटक–पटक तनाव उत्पन्न भएको थियो । 

लागूऔषध लगायतका शंकास्पद गतिविधि नियन्त्रण गर्न प्रहरीले कारागारभित्र सर्च अपरेशनको प्रयास गरे पनि कैदीबन्दीको विरोधका कारण यसअघि दुईपटक असफल भएको थियो ।

तर, पछिल्लो पटक कैदीबन्दी आफैंले समूहका अगुवालाई नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाएपछि १९ जनालाई अन्यत्र पठाउन प्रशासन सफल भएको थियो ।

जेलर घिमिरेका अनुसार केही ब्यक्तिको सरुवापछि कारागार एक सातायता शान्त छ । नाइके र भाइनाइके नियुक्त गरिएको छ । चौकीदार (भित्रको प्रमुख) भने नियुक्ति प्रक्रियामा छ । 

चौकीदारको उम्मेदवारका लागि बुधबार सातादिने सूचना निकालिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरीका प्रतिनिधि र जेलर रहेको तीन सदस्यीय समितिले चौकीदारको नाम कारागार ब्यवस्था बिभागमा सिफारिस गरेपछि नियुक्ति हुने छ ।

View : 36

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved