Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

एनपीएल–२ मा विराटनगर

तेस्रो स्थानमा टुंगियो यात्रा, फाइनल सपना अधुरै

एनपीएल दोस्रो संस्करणमा तेस्रो बनेर २५ लाख पुरस्कार भने टोलीले पक्का गरेको छ ।
उद्‌घोष संवाददाता
२६ मंसिर २०८२, शुक्रवार

विराटनगर । निर्णायक घडीमा बलियो ब्याटिङ लाइनअप धराशायी हुने क्रमले फेरि एकपटक निरन्तरता पाउँदा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल पुग्ने अवसर गुमाएको छ । 

यद्यपि तेस्रो बनेर २५ लाख पुरस्कार भने टोलीले पक्का गरेको छ । प्रतियोगिताको विजेताले एक करोड र उपविजेताले ५० लाख पाउनेछन् । 

बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सको हातबाट ४० रनले पराजित हुँदै विराटनगर एनपीएल दोस्रो सिजनमा तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । 

टी–२० क्रिकेटमा सामान्य तहको योगफल जोगाएर लुम्बिनीले फाइनलमा सुदुरपश्चिसंगको भेट पक्का गरेको छ । एनपीएलको फाइनल शनिबार हुँदैछ । सुदुरपश्चिम गतवर्षको उपविजेता टोली हो ।

लिग चरणका खेल सकिदा अंकतालिकाको दोस्रो स्थानमा रहेर क्वालिफायर १ मा पुगेको विराटनगर पहिलो क्वालिफायरमा पनि यसैगरी चुकेको थियो । 

बलियो मानिएको ब्याटिङ लाइनअप ध्वस्त हुँदा ७८ रनमा खुम्चिदै विराटनगर ७७ रनले पराजित भएको थियो ।

फाइनल प्रवेशका लागि अर्को मौका पाएको विराटनगरले त्यो अवसर पनि सोही शैलीमा गुमाएको छ । बिहीबार दोस्रो क्वालिफायरमा लुम्बिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भएको थियो । 

विराटनगरले अघिल्लो सिजनको दाँजोमा यसपटक भने आफ्नो प्रदर्शनमा उल्लेख्य सुधार गरेको हो । एनपीएलको पहिलो सिजनमा आठ टोलीमध्ये सातौं बनेको विराटनगर यसपटक तेस्रो बन्न सक्यो । 

यद्यपि फाप डु प्लेसिस, मार्टिन गप्टिल, सन्दिप लामिछाने जस्ता स्टार खेलाडीले भरिएको टोलीबाट यसपटक समर्थकहरूले उच्च आशा राखेका थिए । 

ब्याटरहरूले कमजोर प्रदर्शन गर्दा त्यो आशामा तुषारापात भएको छ । सामान्य लक्ष्य पछ्याएको  विराटनगरले खराब सुरूवात गरेको थियो । लुम्बिनीविरूद्ध ब्याटिङमा ओर्लेको उसले ६ बलको अन्तरमा सुरूवाती तीन ब्याटरलाई गुमाएको थियो । 

लुम्बिनीका रूबेन ट्रम्पलम्यानले पहिलो ओभरको पाचौँ बलमा मार्टिन गप्टिललाई २ रनमा जेजे स्मितबाट क्याच आउट गराएर सुरू गरेको विकेट लिने क्रम निरन्तरजसो जारी रह्यो । त्यही ओभरको  अन्तिम बलमा लोकेश बम पनि आउट भए । 

दोस्रो ओभरको तेस्रो बलमा पाफ डु प्लेसिस ३ रन बनाएको अवस्थामा शेर मल्लबाट बोल्ड भएका थिए । यसरी विराटनगरको टप अर्डर ध्वस्त बन्न पुगेको थियो ।

विराटनगरले सातौं ओभरमा चौथो विकेट गुमायो । शंकर राना ७ रन बनाएको अवस्थामा तिलकराज भण्डारीबाट बोल्ड हुन पुगे । 

त्यतिबेला विराटनगरले जम्मा ३० रन मात्रै जोडेको थियो । त्यसपछि साम हिजलेट र मच्र्यान्ट टि ल्याङ्गेले पाचौ विकेटका लागि २८ रनको साझेदारी गरे । तर, हेजजलेट एघारौं ओभरको अन्तिम बलमा जेजे स्मितको बलमा दुर्गेश गुप्ताबाट क्याच आउट हुन पुगे । 

हेजलेटले ३४ रन जोड्ने क्रममा २८ बल खेलेर २ चौका र २ छक्का प्रहार गरेका थिए । हेजलेट आउट भएपछि विराटनगरको आशा लगभग सकिएको थियो ।

त्यसको दुई ओभरपछि बसिर अहमद पनि आउट हुन पुगे । उनी ३ रनमा तिलककै बलमा ट्रम्पलम्यानबाट क्याच भए । फेरि पनि विराटनगरले विकेट गुमायो । सन्दीप लामिछाने १३ औं औभरमा ३ रन बनाउदा अभिषेश गौतमको बलमा सन्दीप जोराबाट क्याच भएका थिए । 

डि ल्यांगे १५ औं ओभरमा १७ रन बनाएर आउट भएपछि विराटनगरको आशा पूरापूर सकिन पुग्यो । २० बलमा १ चौका प्रहार गरेका उनलाई अभिषेशले विकेट पछाडि निरोशन डिक्वेलाबाट क्याच गराएका थिए । 

प्रतिश जिसी पनि नवौं विकेटको रूपमा २ रनमा आउट हु“दा लुम्बिनी जित नजिक पुग्यो । प्रतिशलाई तिलकले डार्र्शी सर्टबाट १५.४ ओभरमा आउट गरे ।

विराटनगरका लागि नरेन भट्टले अन्तिममा केही ठूला सर्टहरू खेले । अन्तिममा ब्याटिङमा आएका उनले टिमका लागि दोस्रो धेरै व्यक्तिगत रन बनाएका थिए । उनले २१ रन बनाएका थिए । बलिङमा लुम्बिनीका तिलक भण्डारीले ३ विकेट लिए । उनले १५ रन खर्चिएका थिए । 

त्यसअघि टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । 

लुम्बिनीका लागि ओपनर डार्र्शी शर्टले ४५ रन र कप्तान रोहितकुमार पौडेलले ३४ रनको योगदान गरेका थिए । 

ओपनर दिनेश अधिकारी १ रनमा आउट भएपछि शर्ट र रोहितबीच दोस्रो विकेटका लागि ६९ रनको साझेदारी भएको थियो । 

रोहित १२औं ओभरमा विराटनगरका सुवास भण्डारीबाट बोल्ड भएका थिए । त्यसपछि लुम्बिनीले लगातार विकेट गुमाएको थियो ।

शर्टले ४५ रन जोड्ने क्रममा ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । १४ औं ओभरमा डार्र्शीसहित रोहित र दिनेश गरी शीर्ष तीन ब्याटरको विकेट विराटनगरका सुवास भण्डारीले लिएका थिए । 

लुम्बिनीका सन्दीप जोरा र जेजे स्मित डक आउट भए । जोरालाई कप्तान सन्दीप र स्मितलाई प्रतिश जिसीले क्याच गराए । त्यसपछि दिलिप नाथ १ रनमा आउट भए भने निरोसन डिक्वेलाले २९ रन जोडेका थिए । 

सन्दीपबाट १८औं ओभरको पाचौँ बलमा क्याच भएका डिक्वेलाले २२ बलमा ४ चौका प्रहार गरेका थिए ।  

अन्तिम ओभरको पाँचौ बलमा शेर मल्ललाई ७ रनमा प्रतिश जिसीले क्याच गराए । रूबेल ट्रम्पलम्यानले नटआउट ११ रन जोडेका थिए । 

बलिङमा विराटनगरका सुवास भण्डारीले ३ विकेट लिंदा ४ ओभरमा १४ रन मात्र दिए । 

प्रतिश जिसीको नाममा पनि ३ विकेट रह्यो । उनले ४ ओभरमा २७ खर्चिए । 

कप्तान सन्दीप लामिछानेले २ विकेट लिने क्रममा ४ ओभरमा १८ रन खर्चिए । 

हालसम्म १७ विकेट लिएका विराटनगरका कप्तान सन्दिप सर्वाधिक विकेट लिने बलर हुन् । 

उनलाई १५ विकेट लिएका सुदूरपश्चिमका अभिनाश बोहराले पछ्याइरहेका छन् । बोहराले अब फाइनल खेल खेल्न बाँकी छ ।

View : 170

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved