कांग्रेस विशेष महाधिवेशन :
विराटनगर । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले पार्टीको पुरानै विधानअनुसार निर्वाचन गर्ने भएको छ ।
नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरी पार्टीको पुरानो विधानअनुसार निर्वाचन गर्न लागेको जानकारी दिएको हो ।
पार्टीको पुरानो विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्यको निर्वाचन हुने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।
विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समिति रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा समिति गठन गरेको थियो ।
निर्वाचन समितिका संयोजक केसीले मध्याह्न २ः०० देखि ३ः०० बजेसम्म उम्मेदवार मनोनयनको कार्यक्रम रहेको जानकारी दिएका थिए । अहिले निर्वाचन समितिमा मनोनयन दर्ताको काम समेत सुरु भइसकेको जनाइएको छ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७४३ मतदाता रहेकामा केही निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि कायम रहेका छन् ।
यता निर्वाचनको प्रकृया अघि बढ्न ढिलाई भएको भन्दै विशेष महाधिवेशन पक्षधर कार्यकर्ताहरुले भने भृकुटीमण्डपमा छिटो निर्वाचनको प्रकृया अघि बढाउन दवाव दिंदै नाराबाजी गरेका छन् । उनीहरुले सानेपामा सभापति देउवा पक्षले वार्ताका नाममा अलमल्याउने प्रयास गरिरहेको दाबी गरेका छन् ।
View : 122
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved