विराटनगर । चैत महिनाभित्रै विराटनगरबाट ११ वटा मोटरसाइकल चोरिंदा मोरङ प्रहरी चोरिएका ६ वटा मोटरसाइकलसहित दुईजनालाई पक्राउ गर्न सफल भएको छ । चोरीमा संलग्न रहेका विराटनगर–१७ का २४ वर्षीय मोहम्मद नौसाद अन्सारी र १७ वर्षीय मोहम्मद सोयल आलमलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । उनीहरूलाई मोटरसाइकल चोरी गरेर लैंजादै गरेको अवस्थामै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले चोरीका पाँचवटा मोटरसाइकल र एउटा स्कुटर विराटनगर–१५ स्थित नेपाल–भारत सीमा क्षेत्रको दरैया र टिकुलियाबाट बरामद गरिएको जानकारी दिए ।
चोरीमा संलग्न रहेका उनीहरूले मंगलबार मात्रै विराटनगर–७ अस्पताल चोकबाट कटहरी गाउँपालिका–१ का दुलाचन्द पोदारको प्र १–०२–०४१प ०३४० नम्बरको होन्डा सीबी साइन मोटरसाइकल चोरी गरेका थिए । प्रहरीले सीसीटीभीबाट उनीहरूको हुलिया लिएर तत्कालै खोजी गर्दा चोरीको मोटरसाइकलसहित दुवैजना पक्राउ परेका थिए ।
मोटरसाइकलमा चोरीमा गिरोहकै रुपमा संलग्न रहेका व्यक्तिहरूले चैत महिनामा मात्रै अस्पताल, होटल, अदालत र मालपोत कार्यालय क्षेत्रमा पार्किङमा राखिएका मोटरसाइकल चोरेको प्रवक्ता जोशीले बताए ।
मोटरसाइकल चोरी गर्न उनीहरूले ‘मास्टर चाबी’ को प्रयोग गर्ने गरेको खुलेको छ । चोरी गरेका मोटरसाइकल भारतसँगको खुला सीमाको फाइदा उठाउँदै तत्कालै भारत पु¥याएर सस्तो मूल्यमा बिक्री गर्ने र मोटरसाइकल धनीको नम्बर फेला परेमा मोटरसाइकल फिर्ताका लागि फिरौती असुल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता जोशीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म मात्रै मोरङबाट ६० वटा मोटरसाइकल चोरी भएको घटना प्रहरीमा दर्ता भएका छन् ।
जसमध्ये हालसम्म ४ वटा मोटरसाइकल मात्रै बरामद भएकोमा पछिल्लो पटक भने ६ वटा मोटरसाइकल र चोरीमा संलग्न दुईजना समेत पक्राउ परेका हुन् ।
२०८१ मंसिरमा मात्रै प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहका नाइकेका रुपमा चिनिएका नजाम अन्सारीलाई पक्राउ गरेको थियो । अन्सारी पक्राउ परेलगत्तै चोरी रोकिए पनि पछिल्लो पटक फेरी चोरी मौलाएको थियो ।
चोरी बढेका कारण प्रहरीले निगरानी बढाउँदै लगेको अवस्थामा मंगलबार उनीहरू पक्राउ परेको जनाइएको छ । चोरीमा संलग्न रहेका व्यक्तिहरूले सुपर स्प्लेन्डर, होण्डा साइन र डिस्कभर जस्ता मोटरसाइकल बढी चोर्ने गरेको प्रहरीले जनाएको छ ।
‘पछिल्लो समयमा भने चोरहरूले नयाँभन्दा पुरानो मोटरसाइकल बढी चोरेका रहेछन्’ प्रहरी प्रवक्ता जोशीले भने, ‘लक खोल्न सजिलो हुने भएकाले चोरले पुरानो मोटरसाइकलमा टार्गेट गरेको अनुसन्धानका क्रममा खुलेको छ, यसअघिका चोरीका घटनामा चोरहरूले पीडितको फोन नम्बर पत्ता लगाई फिरौति लिएर मोटरसाइकल फिर्ता गरेको पनि खुलेको छ ।’
प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन धेरै ठाउँको सीसीटीभीको फुटेज लिएर अनुसन्धान गरेको जनाएको छ । अनुसन्धानका क्रममा चोरीमा संलग्न व्यक्तिहरूको हुलिया मिल्दै गएपछि उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीको समेत सहयोगमा पक्राउ गर्न सफल भएको जनाइएको छ ।
मोटरसाइकल चोर्ने क्रममा ती व्यक्तिहरूले सिटी सफारी चढेर आउने गरेको अनुसन्धानमा खुलेको छ । चोरीमा संलग्न नेपाली भए पनि उनीहरू भारततर्फ नै बस्ने गरेको प्रहरीले बताएको छ ।
प्रहरीले बुधबार प्रदेश १–०२ –०४१ प ३४०, को ३ प ९७९५, ज ३ प ७४९८, मे ५ प ६६९२ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको रातो रंगको एक्टिभा स्कुटर र खरानी रंगको अपाचे आरटीआर बरामद गरेको जनाइएको छ ।
View : 160
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved