गाइघाट । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उदयपुरका प्रमुख राजनैतिक दलहरूले आ–आफ्नो उम्मेद्वार टुंगो लगाएका छन् ।
जिल्लाको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ मा वडाध्यक्ष रिक्त छन् । दुवै वडाका वडाध्यक्ष मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि प्रमुख दलहरूले वडाध्यक्षका उम्मेदवार टुंगो लगाएका हुन् । सदरमुकामस्थित त्रियुगा नगरपालिका–१२ मा नेकपा एमालेले लक्ष्मीनारायण चौधरीलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेसले सञ्जीव काफ्लेलाई उम्मेदवार बनाएको छ । सञ्जीव निवर्तमान वडाध्यक्ष स्वर्गीय चुडाराज काफ्लेकै छोरा हुन् । त्रियुगा–१२ मा माओवादी केन्द्रले नविन राईलाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी बेलका नगरपालिका–९ मा एमालेले मोहन खड्कालाई सर्वसम्मत उम्मेद्वार बनाएको छ । खड्का यसअघि कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष पदम खड्काका भाई हुन् । पदमको मोटरसाइकल दुर्घटनामा निधन भएपछि उक्त स्थानमा एमालेले उनकै भाइलाई उम्मेदवार बनाएको हो ।
कांग्रेसले भने नवराज बस्नेत (नविन) लाई वडा अध्यक्ष पदको उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले भरत घिमिरेलाई उम्मेदवार बनाएको छ ।
दुवै पालिकाका वडामा अन्य दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी र राप्रपाले अहिलेसम्म वडाध्यक्षको उम्मेद्वार टुंग्याएका छैनन् ।
निर्वाचन हुने वडामा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले स्वस्थ प्रतिष्पर्धा गर्ने जनाएका छन् ।
निर्वाचन आयोगले त्रियुगा–१२ र वेलका–९ मा हुने निर्वाचनको अन्तिम मतदाता नामावली सार्वजनिक गर्न बाँकी छ । पछिल्लो निर्वाचनसम्म त्रियुगा–१२ मा ३ हजार ७४२ र बेलका–९ मा ३ हजार ९३ मतदाता रहेका थिए ।
View : 70
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved