Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

जीएसआई सैन्य गठबन्धनको विरोध

उद्‌घोष संवाददाता
१८ भदौ २०८२, बुधवार

विराटनगर । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल जीएसआई सैन्य गठबन्धनमा सामेल भए नेपालको असंलग्न परराष्ट्र नीति विपरीत हुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमणका क्रममा त्यहाँको सरकारले सार्वजनिक गरेको सूचनामा नेपाल ग्लोबल सेक्यूरिटि इनिसिएटिभ(जीएसआई) को अंग बनेको कुरा सार्वजनिक भएको बताए । 

मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जीएसआई सैन्य गठबन्धन जस्तो अंग भएको र त्यो नेपालको असंलग्न पराष्ट्र नीति विपरीतको कुरा भएको दाबी गरे । 

उनले चाइना सरकारले त्यस प्रकारको सूचना जारी गरिरहँदा प्रधानमन्त्री वा नेपाल सरकारबाट त्यसको पुष्टि वा खण्डनको कुरा नबाहिरिएको बताए । 

पूर्वउपप्रधानमन्त्री समेत रहेका महतोले चीन सरकारले सार्वजनिक गरेको सूचना सत्य भए यो कदम भत्र्सनायोग्य रहेको बताए । 

जीएसआई जस्तो कुनै पनि गठबन्धनमा नेपाल सामेल हुँदा त्यसले नेपालको सार्वभौमिकतामा आँच आउनसक्ने उनले दाबी समेत गरे । प्रधानमन्त्री र सरकारले यो विषयमा तत्काल वास्तविकता सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो । 

फरक प्रसंगमा अध्यक्ष महतोले काठमाडौं केन्द्रित निर्णायक आन्दोलनको तयारी भइरहेको जानकारी दिए । 

उनले मधेसवादी राजनीतिक दलहरू र हिमाल–पहाडका आदिवासी जनजाति मिलेर अधिकार प्राप्तिको निर्णायक आन्दोलनको तयारी भइरहेको बताए । 

आन्दोलन कहिले शुरु हुन्छ भन्ने पत्रकारको जिज्ञासमा उनले सो विषयमा मधेसवादी दलका शीर्ष नेता तथा अधिकारविहीन वर्गसँग निरन्तर छलफल र संवाद भइरहेको बताए । 

आउँदो केही समयमै आन्दोलनको औपचारिक घोषणा हुने र हिमाल, पहाड, तराई–मधेसका अधिकार विहीन जातजातिको संयुक्त आन्दोलन सुरु हुने उनको भनाइ थियो ।

View : 261

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved