Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कहाँ बस्ने प्रदेशसभा बैठक ? कटहरीमा रहेको कृषि बजारको भवन उपयुक्त हुने सर्वदलीय बैठकको ठहर

उद्‌घोष संवाददाता
८ असोज २०८२, बुधवार

विराटनगर । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले भवन ध्वस्त बनेपछि कोशी प्रदेशसभाको बैठक झनै  अनिश्चित बनेको छ । जेनजी आन्दोलन अघि नै प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

आगजनीले सचिवालयदेखि बैठक हलसम्म क्षतिग्रस्त बनेपछि बैठक झनै अनिश्चित बनेको हो ।

प्रदेशको राजनीतिक नेतृत्वले ध्वस्त बनेको कोशी प्रदेशसभा भवनको विकल्प  खोजी सुरु गरेको छ । प्रदेशसभाका दुवै भवन जलेर क्षतिग्रस्त बनेका बेला संसद् बैठक बस्नका लागि विकल्प खोज्न सुरु भएको हो ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ मा भएको उग्र प्रदर्शनका क्रममा प्रदेशसभाको बैठक कक्ष र सचिवालय भवनमा आगो झोसिएको थियो । त्यसक्रममा लुटपाटसमेत मच्चिएको प्रदेशसभा यतिबेला स्रोतसाधनविहीन अवस्थामा छ ।

यहीबेला प्रदेशसभा बैठक कहाँ राख्ने, कसरी अघि बढ्ने भन्ने विषयमा मंगलबार सर्वदलीय बैठक आयोजना भएको थियो । 

सभामुख अम्बरबहादुर विष्टले बोलाएको सर्वदलीय बैठकले प्रदेशसभाका लागि अस्थायी रुपमा विकल्प खोज्ने निर्णय गरेको छ । त्यसका लागि मोरङको कटहरीमा रहेको कृषि बजारको संरचना उपयुक्त हुने बैठकको ठहर छ । 

‘अहिले पनि प्रदेशको बर्खे अधिवेशन अन्त्य भएको छैन, बैठक के गर्ने भन्ने सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको हो’, सभामुख विष्टले भने ‘अहिले भवन, सचिवालय सबै ध्वस्त भएका बेला तत्काल बैठक गर्ने अवस्था छैन । अब वैकल्पिक ठाउँ खोजेर मात्रै बैठक आयोजना गर्ने भन्ने कुरा भएको छ ।’ 

सभामुख विष्टका अनुसार सर्वदलीय बैठकमा सहभागी नेताहरुले प्रदेशसभाको बैठक सञ्चालन गर्नका लागि दुई वटा ठाउँ उपयुक्त हुने बताएका थिए । विराटनगरस्थित वीरेन्द्र सभागृह र कटहरीको कृषि बजार ।

‘सभागृहभन्दा कृषि बजारको भवन नै उपयुक्त हुने भन्ने कुरा भयो’, सभामुख विष्टले भने ‘तर, त्यो संरचना कटहरी गाउँपालिकाको स्वामित्वमा रहेको छ । पालिकासँग प्रदेश सरकारले संवाद गर्ने कुरा भएको छ ।’

कटहरी–१ मा रहेको कृषि बजारको संरचना अहिलेसम्म प्रयोगविहीन अवस्थामा छ । प्रदेश सरकारले नै स्थानीय तहलाई हस्तान्तरण गरेको कृषि बजारको संरचनामा अघिल्लो वर्ष औद्योगिक व्यापार मेला आयोजना भएको थियो । 

आन्तरिक मामिला मन्त्रालयमा भएको सर्वदलीय बैठकपछि सभामुख विष्टसहितको टोलीले कृषि बजारको संरचना अवलोकन गरेको थियो । 

‘कटहरीको भवनमा चाहिं अलि लामो समयसम्म प्रयोग गर्न पाइने स्थिति देखिन्छ’, उनले भने ‘प्रदेशसभाको भवन नबनेसम्मका लागि सभा सञ्चालन गर्न र सचिवालय चलाउन सभागृह धेरै उपयुक्त नहुने देखिन्छ । अब गाउँपालिकासँग सरकारले कुरा गरेपछि के गर्ने भन्ने थाहा हुन्छ ।’ 

विष्टका अनुसार तत्कालै प्रदेशसभा बैठक बस्ने सम्भावना छैन । उनका अनुसार दशैंपछि फेरि सर्वदलीय बैठक बसेर प्रदेशसभा बैठकबारे निर्णय लिइनेछ । 

सभामुखले आयोजना गरेको बैठकमा उपसभामुख सिर्जना दनुवार, कांग्रेस संसदीय दलका नेता उद्धव थापा, मन्त्रीहरु भूपेन्द्र राई, रेवतीरमण भण्डारी, एमाले प्रमुख सचेतक विदुर लिंथेप, तिलचन पाठक, माओवादी प्रमुख सचेतक गीता तिम्सिना, एकीकृत समाजवादीकी प्रमुख सचेतक विद्या चाम्लिङलगायत सहभागी थिए । 

जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवनसहित प्रदेश सरकार मातहत रहेका प्रदेशभरका ४२ वटा भवन तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेका थिए । 

जसमध्ये १८ वटा भवन पूर्ण क्षतिग्रस्त भएको र २४ वटा भवनमा तोडफोड भई आंशिक क्षति पुगेको छ । प्रदर्शनकारीले प्रदेश सरकारको २३७ वटा सवारी साधनमा क्षति पुर्याएका छन् । 

७५ वटा चारपाङ्ग्रे सवारी साधनमा क्षति पुगेकोमध्ये ६४ वटामा  पूर्णरुपमा क्षति पुगेकोे छ । ११ वटामा आंशिक क्षति भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

प्रदेश सरकार अन्तरगत विभिन्न कार्यालयका १६१ वटा मोटरसाइकलमा क्षति पुगेको छ । 

तीमध्ये तोडफोड र आगजनीबाट १४४ वटा मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । १७ वटामा भने आंशिक क्षति पुगेकोले मर्मत गरेर चलाउन सकिने अवस्था छ ।

View : 519

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved