झापा । झापाको मेचीनगर–४ आमडाँगीस्थित पशुपति माध्यमिक विद्यालयबाट अशेष घिमिरेले आफ्नो चुनावी अभियान औपचारिक रुपमा सुरु गरेका छन् । यही विद्यालयबाट अक्षर आरम्भ गरेका घिमिरेले आफू हुर्के–बढेको ठाउँबाटै राजनीतिक यात्राको नयाँ अध्याय सुरु गर्नु भावनात्मक र अर्थपूर्ण भएको बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट झापा क्षेत्र नं १ का उम्मेदवार बनेका घिमिरे पेशाले इन्जिनियरसमेत हुन् । हाल मेचीनगर–१० निवासी उनी जिल्लादेखि केन्द्रसम्मको राजनीतिको केन्द्रमा बसेर काम गरिसकेका अनुभवी युवा नेता मानिन्छन् ।
विकास, नीति निर्माण र कार्यान्वयन प्रक्रियामा प्रत्यक्ष संलग्न भइसकेका घिमिरेसँग देश विकासका लागि स्पष्ट खाका र एजेन्डा रहेको उनी निकटवर्तीहरु बताउँछन् ।
चुनावी अभियानको सुरुवात गर्दै घिमिरेले सार्वजनिक शिक्षाको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे । उनले भने, ‘मैले पढेको, हुर्किएको यही ठाउँ हो । तर, दुःखका साथ भन्नुपर्छ, आज सार्वजनिक शिक्षण संस्था धरासायी बन्दै गएका छन् । यसको जिम्मेवारीबाट हामी उम्कन सक्दैनौँ ।’
हाल शिक्षा विधेयक विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै उनले यसको निर्माण प्रक्रिया जनमुखी र व्यवहारिक हुनुपर्नेमा जोड दिए । उनका अनुसार देशका हरेक नागरिकले निःशुल्क र गुणस्तरीय शिक्षा पाउनु संविधानले सुनिश्चित गरेको अधिकार हो, जसलाई व्यवहारमा उतार्न राजनीतिक इच्छाशक्ति आवश्यक छ ।
‘सार्वजनिक शिक्षामा लगानी बढाउनै पर्छ,’ घिमिरेले जोड दिए, ‘शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन राज्यले प्राथमिकताका साथ काम गर्नुपर्छ । सार्वजनिक शिक्षा कमजोर भयो भने निजीकरण बढ्छ र आम नागरिक शिक्षा पहुँचबाट बाहिरिन्छन् । त्यसैले सार्वजनिक शिक्षा हाम्रो मूल मुद्दा हो ।’
घिमिरेले शिक्षा, पूर्वाधार, रोजगारी र स्थानीय विकासलाई एकआपसमा जोडेर हेर्नुपर्ने धारणा राखे । शिक्षित जनशक्ति बिना समृद्धि सम्भव नभएको उल्लेख गर्दै उनले योजनाबद्ध विकासका लागि शिक्षामा लगानी अपरिहार्य भएको बताए ।
चुनावी अभियानकै क्रममा उनले साविक बाहुनडाँगी, मेचीनगर र झापा क्षेत्र नं १ का सम्पूर्ण मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन् । ‘यो चुनाव केवल व्यक्ति जित्ने वा हार्ने विषय होइन, यो सार्वजनिक शिक्षालाई जोगाउने र देशको भविष्य निर्माण गर्ने लडाइँ हो,’ उनले भने ।
घिमिरेले सबै बाहुनडाँगी तथा झापा क्षेत्र नं १ बासीलाई नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह तारामा भोट दिन अपिल गर्दै आफूले जितेपछि जनतासँग गरेका प्रतिबद्धता कार्यान्वयन गरेर देखाउने विश्वास दिलाएका छन् ।
View : 235
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved