Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

काभ्रे यातायात कार्यालयमा कर्मचारी अभावले सेवा बिस्तार रोकियो

उद्‌घोष संवाददाता
२५ साउन २०८१, शुक्रवार

Advertisement

काभ्रेपलाञ्चोक, २५ साउन ।  काभ्रेको बनेपामा स्थापित यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभावका कारण सेवा बिस्तार  रोकिएको छ । गत साउन १५ गते स्थापना गरिएको कार्यालयमा आवश्यक प्राविधिक फाँटमा कर्मचारी अभावले सवारी जाँचपास लगायतका सेवा बिस्तारमा समस्या देखिएको हो ।

बागमती प्रदेशस्थित श्रम, रोजगार तथा यातायात मन्त्रालयले उक्त कार्यालयमा दरबन्दी अनुसारको प्राविधिक कर्मचारी (मेकानिकल सुपरभाइजर) नखटाउँदा प्राविधिक काम सुरु गर्न नसकिएको सूचना अधिकारी पवन बजगाँईले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयबाट प्राविधिक कर्मचारी खटाउन नसकेका कारण सवारी दर्ता, नामसारी, प्रदूषण परीक्षण, भाडाको सवारीको जाँचपास, सवारी सर्वसहमति सरुवा सहमति र लिलामी दर्ताको काम सुरु गर्न नसकिएको हो ।

कार्यालयमा सेवा बिस्तार नहुँदा काठमाडौ उपत्यकाका यातायात कार्यालय धाउनुपर्ने बाध्यता हटेको छैन । 

कार्यालयबाट तत्कालका लागि सवारी साधनको ब्लू–बुक नवीकरण, सवारी कर, रुट परमिट जारी तथा नवीकरण, भाडाका सवारी साधन सेवा पञ्जिकरणको काम मात्र भइरहेको सूचना अधिकारी बजगाईंले बताए ।

मन्त्रालयबाट कार्यालयमा पाँचौ तथा छैटौँ तहसहितका आवश्यक प्राविधिक कर्मचारी नखट्दा सेवा बिस्तार गर्न नसकेको हो । कार्यालयले हालसम्म चालक अनुमति पत्र (लाइसेन्स) नवीकरणसमेत अघि बढाउन नसकेको जनाएको छ ।

कार्यालयले लाइसेन्स नवीकरणको काम भने भदौको पहिलो सातादेखि सुरु गर्ने योजना बनाएको छ । स्थापना सुरुका केही दिनभन्दा हाल सेवाग्राहीको सङ्ख्या दैनिक बढिरहेको जनाइयो । 

यस्तै कार्यालयले असोज महिनादेखि ‘ए’, ‘बी’, ‘सी’ र ‘के’ वर्गको सवारी चालक अनुमति–पत्र प्रदान गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाएको जनाएको छ ।

गत असार १६ गतेबाट औपचारिक सेवा सुरु गरेको कार्यालयले एक महिनाको अवधिमा कार्यालयबाट तीन हजार २१ सवारी साधनको ब्लू–बुक नवीकरण, सवारी कर, रुट परमिट जारी तथा नवीकरण, भाडाका सवारी साधन सेवा पञ्जिकरणको काम भएको कार्यालयले जनाएको छ । 

यस्तै कार्यालयले एक महिनाको अवधिमा रु दुई करोड १८ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयमा ‘रुट परिमिट’का लागि दैनिक औषत पाँच सवारी, ब्लू–बुक नवीकरण तथा सवारी कर बुझाउन दैनिक सरदर एक सय र दैनिक राजस्व करिब रु १५ लाखको हाराहारिमा सङ्कलन हुने गरेको जनाइएको छ ।

उक्त कार्यालयबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, तथा भक्तपुरका केही क्षेत्रका सेवाग्राहीले सेवा लिन सक्नेछन् । बनेपामा कार्यालय स्थापनापछि मध्यपहाडी क्षेत्रका सेवाग्राहीलाई सहज बन्दै गएको हो ।

बागमती प्रदेश सरकारले साउन महिनाबाट यातायात सेवालाई सहज बनाउन अनलाइन र डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी गरिएको छ । नयाँ सवारी चालक अनुमतिपत्र लागि कार्यालयले ट्रायल सेन्टर सञ्चालनका लागि नीजि क्षेत्रसँग समन्वय गर्न प्रक्रिया बढाइएको जनाइयो । रासस
 

View : 510

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved