Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा कांग्रेस किचलो

सत्तारोहणको साइत अझै अनिश्चित

एकै जनालाई भए पनि बिहीबार साँझ वा शुक्रबार बिहानसम्ममा मन्त्री बनाएर पठाउनेबारे केन्द्रमा छलफल भइरहेको छ : कांग्रेस स्रोत
१३ भदौ २०८१, बिहिवार

विराटनगर । साउन ११ गते शुक्रबार कोशी सरकारबाट माओवादी बाहिरिने बित्तिकै कोशी कांग्रेसका नेताहरुले आत्मविश्वासपूर्वक भनेका थिए ‘आउँदो सोमबार साँझसम्ममा हामी सरकारमा सहभागी हुन्छौं ।’ 

उनीहरुले भनेको त्यो सोमबार भनेको साउन १४ गते थियो । माओवादीले सरकार छाडेको र कांग्रेस सरकारमा सहभागी हुन माथापच्ची सुरु भएको महिना दिन बित्यो तर नेताहरुले भनेको त्यो ‘सोमबार’ अझै आएको छैन । कोशी सरकारमा कांग्रेस कहिले सहभागी हुन्छ भन्ने प्रश्न गर्दा बहुसंख्यक नेताहरु त्यसबारे आफूलाई केही थाहा नभएको बताइरहेका छन् । 

पूर्व मुख्यमन्त्रीसमेत रहेका दलका नेता उद्धव थापाले भदौ १४ को प्रदेशसभा बैठकमा कांग्रेस मन्त्रीहरुसहित सहभागी बन्ने भन्दै सार्वजनिक रुपमै अभिव्यक्ति दिएका थिए । तर, भदौ १४ आउनै लाग्दा भने उनको बोली पनि फेरिएको छ । ‘

केन्द्रले निर्णय गर्ने हो, अझै एक दुई दिन लाग्ला जस्तो सुनिन्छ’, थापाले भने ‘हेरौं न केन्द्रले केही निर्णय गर्ला ।’ उनले दिएको भदौ १४ को भाकामा कांग्रेस सरकारमा सहभागी हुन्छ कि हुन्न उनले अनिश्चय प्रकट गरे । 

यद्यपि बिहीबार साँझसम्ममा एक जनालाई मात्रै भए पनि सपथ गराएर सरकारमा सहभागी गराउने तयारीमा केन्द्रका नेताहरु लागेको स्रोतले जानकारी दिएको छ ।

‘प्रदेशको सभापतिसमेत रहेका दलका नेता उद्धव थापाले सार्वजनिक रुपमा गरेको घोषणाको सम्मानकै लागि भए पनि एक वा दुई जनासम्मलाई बिहीबार साँझ वा शुक्रबार बिहानसम्ममा मन्त्री बनाएर पठाउनेबारे पनि सभापतिसँग छलफल सुरु भएको छ ’, कांग्रेस उच्च स्रोतले भन्यो ‘हेरौं सकेसम्म त्यही भए पनि निर्णय गराउन हामी लागेका छौं ।’  

उक्त स्रोतका अनुसार पाँच वटा मन्त्रालय कांग्रेसले लिने अवस्थामा सभापति शेरबहादुर देउवा पक्षले दुई, शेखर कोइराला पक्षले दुई र कृष्णप्रसाद सिटौला पक्षले एउटा मन्त्रालय पाउने गरी भागबन्डा सकिएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली र देउवा मन्त्रालय संख्या थप्न सकारात्मक नभएपछि आन्तरिक भागबन्डा फेरि पेचिलो बनेको छ । 

‘कोशीका सांसदहरुमध्ये उद्धव थापा र केदार कार्कीबाहेक अरु सबै मन्त्रीका दाबेदार भए’, कांग्रेस केन्द्रका ती नेताले भने ‘त्यही भएर पनि नाम टुंगो लगाउन ढिला भएको छ । एक जना भए पनि मन्त्री बनाएर पठाएर १४ गते प्रदेशसभामा सांसदहरुलाई उपस्थित गराउने पहल थालिएको छ ।’ 

केन्द्रका नेताहरुको यस्तो तयारीप्रति प्रदेशका नेताहरु भने धेरै विश्वस्त छैनन् । भदौ १४ को संसद् बैठक अघि कांग्रेस सरकारमा जान्छ कि जाँदैन भन्ने उद्घोषको प्रश्नमा संसदीय दलका उपनेता हिमाल कार्कीले ‘कांग्रेस सरकारमै रहेको र यो सरकारलाई समर्थन भएको’ घुमाउरो उत्तर दिए ।

‘यो सरकारलाई समर्थन छदैछ, हामी सरकारमा जाने नै हो अनि किन धेरै तनाव लिनु’, कार्कीले भने ‘हाम्रो समर्थन छँदैछ त, सरकारमा त हामी गएकै छौं, खाली पात्र को जाने भन्ने मात्रै न हो । ‘१४ गते सदन सुरु हुन्छ त्यसदिन हामी सरकारलाई औपचारिक रुपमा समर्थन गर्छौं । पात्रका लागि चाहिं  १६ या १७ गतेसम्मको  टाइम लाग्नसक्छ ।’ 

प्रदेशको समिति तथा संसदीय दललाई मन्त्री चयन गर्ने मामिलामा भूमिकाविहीन तुल्याएको कांग्रेस केन्द्रले पनि समयमै मन्त्रीको नाम नदिंदा कोशीमा पार्टी बद्नाम बनेको सांसदहरु बताउछन् । ‘कि देउवालाई थाहा छ कि आरजु भाउजूलाई थाहा छ, अरुलाई मन्त्री को बन्छ भन्ने थाहा छ जस्तो लाग्दैन’, संसदीय दलका एक पदाधिकारीले भने ‘त्यही भएर सरकारमा जाने भाका सारेको सार्यै गर्नुपरिरहेको छ ।’ 

कांग्रेसले सरकारमा जाने भाका सार्ने सिलसिला साउन १४ यता निरन्तर चलिरहेको छ । माओवादीले सरकार छाड्ने बित्तिकै काठमाडौंमा बसेर एमालेसँग मन्त्रालय भागबन्डा गरेको कांग्रेसले साउन १४ सम्मको पहिलो भाका दिएको थियो ।

त्यसबेला कोशीका पार्टी सभापतिसमेत रहेका संसदीय दलका नेता थापादेखि केन्द्रीय सदस्य भीम पराजुलीसम्म, प्रदेश महामन्त्री भूपेन्द्र राईदेखि प्रमुख सचेतक गोपाल तामाङसम्मले सकेसम्म सोमबार (साउन १४) नभए पनि साउन २० सम्ममा कांग्रेस प्रदेश सरकारमा सहभागी हुने बताउँथे । तर, कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएन । सरकारमा सहभागी बनेन । 

साउन २० गते साँझ सभापति थापा र केन्द्रीय सदस्य पराजुलीलाई उद्घोषले ‘साउन २० को भाका फेरि सरेको हो ?’ भनेर सोधेको थियो । उनीहरु दुवैले साउन २३ देखि केन्द्रीय समिति बैठक सुरु हुने र त्यसपछि मात्रै निर्णय हुने बताएका थिए ।

साउन अन्तिममा सरकारमा सहभागी हुने उनीहरुको भनाइ फेरि गलत सावित भयो । केन्द्रीय समिति बैठक लम्बियो । त्यहाँ यसबारे कुरै उठ्न सकेन । अहिले भदौको आधा समय बितिसकेको छ । तैपनि कांग्रेसले मन्त्री बनाएर पठाउने नेताहरुको नाम टुंगो लगाउन सकेको छैन । ‘भदौ १४ अघि सरकारमा सहभागी हुने सम्भावना कमजोर नै देखिरहेको छु’, मन्त्री बन्ने दौडमा रहेका केन्द्रीय सदस्य भीम पराजुलीले भने ‘अझै एक दुई दिन लाग्ला कि भन्ने छ ।’ 

एकपछि अर्को भाका गुजार्दै लगेको कांग्रेसभित्र प्रदेशका नेताहरुको आत्मसम्मान र वचनको ओज जोगाइदिनकै लागि सभापति देउवाले बिहीबारसम्ममा मन्त्रीको नाम टुंगो लगाइदिने झिनो आशा केही नेतामा देखिन्छ । यद्यपि भागबन्डा मिलाउन मात्रै होइन आफ्नै गुटबाट पनि धेरै जना आकांक्षीबाट दुईटा नाम छान्न देउवालाई सकस परिरहेको छ ।

‘अब हामीले भन्ने ठाउँ केही छैन’, कोशीका कांग्रेसका एक पदाधिकारीले भने ‘सभापतिले नाम पठाए बिहीबार नै सपथ हुनसक्छ । अन्यथा जहिले पठाउनुहुन्छ त्यही दिन सपथ हुन्छ ।’

View : 130

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved