विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाले करको दर बढाएको भन्दै सरोकारवालाले स्थानीय तह विरूद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । स्थानीय राजनीतिक दल र नागरिकहरूले नगरपालिकाले बढाएको करको दर आगामी पुस १५ गतेभित्रमा समायोजन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
राजनीतिक दलहरूको तर्फबाट विराटचोकमा बिहीबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८०–०८१ मा नगरपालिकाले जग्गा बर्गीकरणको नाममा एक सय प्रतिशत बढी कर बढाएको भन्दै स्थानीय उद्योगी व्यवसायीदेखि सर्वसाधारणसम्मले कर वृद्धिको विरोध गर्दै तत्काल समायोजन गर्न माग गरेका हुन् ।
सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकालले खेती किसानी गरेर आफ्नो दैनिकी चलाउनेलाई करको दर उच्च भएको कारणले उनीहरूलाई समस्या परेको बताउँदै भने, ‘आर्थिक अवस्था टाट पल्टिएको अवस्थामा नगरपालिकाले नगरवासीको ढाड सेक्नेगरी कर बोकाएको छ । त्यो पनि अवैज्ञानिक तरिकाले बढाइएको कर तत्काल समायोजन गरिनुपर्दछ ।’
करको दर बढेपछि सबै क्षेत्रलाई समस्यामा पारेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राष्ट्रिय स्वतन्त्र पार्टी, जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी सुन्दरहरैंचा, सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, सुन्दरदुलारी उद्योग वाणिज्य संघले विरोध जनाएका छन् ।
‘हरेक क्षेत्रमा कर वृद्धि गरिएको छ,’ माओवादी केन्द्र सुन्दरहरैंचा नगरपालिका अध्यक्ष दुष्यन्त भट्टराईले भने, ‘राजस्व परामर्श समितिको बैठकमा आफूहरूले कर वृद्धि नगर्न सुझाव दिए पनि बेवास्ता गर्दै नगरपालिकाले एकलौटी ढंगले कर वृद्धि गरेको छ । यो तत्काल सच्याइनु पर्छ नत्र आन्दोलनमा उत्रन बाध्य हुनेछौं ।’
कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०८०–०८१ बाट लागू हुने गरी जग्गा बर्गीकरण लगायतका विभिन्न शीर्षकहरूमा नगरपालिकाले कर वृद्धि गरेको थियो ।
स्थानीय र राजनीतिक दलको चौतर्फी विरोध भएपछि नगरपालिकाले कार्यदल गठन गरेको छ । सुन्दरहरैंचा–१२ का वडाध्यक्ष रोशन प्रसाद ढकालको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन भएको नगर प्रमुख केदारप्रसाद गुरागाईंले बताए ।
‘सामान्यतया दश प्रतिसतसम्म कर दर बढाउन पाइन्छ । त्यही अनुसार हामीले बढाएको हो । अहिले कार्यदल पनि गठन भएको छ । कार्यदलले दिएको प्रतिवेदनको आधारमा समायोजन गरिनुपर्ने देखियो भने कार्यपालिकामा लगिन्छ । सोही बैठकबाट आवश्यक निर्णाय गरिनेछ,’ उनले भने, ‘अहिले समय सापेक्ष रूपमा कर बढाइएको छ ।’
View : 208
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved